नेपाली कांग्रेसका नेता तथा समाजसेवी डा.सुनीलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विदुर नगरपालिका–५, पिपलटारमा रहेको चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा सञ्चालन गरिएको शिविरमा केएमसीका वरिष्ठ चिकित्सकको टोलीले बाढी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेकोेछ ।
शिविरमा आएका बिरामीको स्वास्थ्य परीक्षणपछि, चिकित्सकको सल्लाह अनुसार बाढी पीडितलाई औषधि वितरण गरिएको केएमसीले जनाएको छ । थप उपचार आवश्यक देखिएका बिरामीलाई अस्पतालमा ल्याएर उपचार गराउन रिफर गर्ने व्यवस्था पनि गरिएको थियो ।
बाढीका कारण घरबार, सम्पत्ति र आम्दानीको स्रोत गुमाएका नागरिकमाथि उपचारको थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको केएमसीले जनाएको छ । तत्काल उपचार आवश्यक भएका बिरामीको उपचार शिविरमै गर्नुका साथै जटिल स्वास्थ्य समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल ल्याउने व्यवस्था गरिएको छ ।
राहतमा पाएको चाउचाउ बेचेर रक्तचापको ओखति नियमित सेवन गर्नुपर्ने सुरेशकुमार कारञ्जित खुशी भएका छन । काठमाडौं मेडिकल कलेज (केएमसी)को निःशुल्क स्वास्थ्य शिविरमा उनलाई आवश्यक औषधि निःशुल्क दिइएको थियो ।
भोटेकोशी नदीमा आएको बाढीमा सर्वस्व गुमाएका कारञ्जितसँग औषधि किन्नेसमेत पैसा थिएन । विभिन्न संघसंस्थाले वितरणका लागि ल्याएको राहत सामग्रीले खानेकुराको जोहो हुँदै आए पनि नियमित सेवन गर्नुपर्ने रक्तचाप (प्रेसर) को औषधि किन्ने पैसा नहुँदा उनी समस्यामा थिए । बाध्य भएर राहतमा पाएको चाउचाउ बेचेर त्यसबाट आएको पैसाले औषधि किन्दै आएका कारञ्जितले केएमसीको शिविरमा स्वास्थ्य परीक्षण गराएपछि चिकित्सकको सल्लाहअनुसार आवश्यक औषधि निःशुल्क पाएका हुन ।
नेपाली कांग्रेसका नेता तथा समाजसेवी डा.सुनीलकुमार शर्माको पहलमा केएमसीले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट कारञ्जितजस्ता धेरै पीडितका लागि उपचार र औषधि प्रदानगर्ने अभियान नै चलाएकोछ । विशेषगरी उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग भएका वृद्धवृद्धा तथा अन्य बिरामी उपचार र नियमित औषधिको अभावमा समस्यामा परेका थिए । कतिपय स्थानमा सामान्य औषधि उपलब्ध भएपनि चिकित्सकले सिफारिस गरेको औषधि बजारमा नपाउने समस्या रहेको पीडितहरूले बताउँदै आएका छन । केएमसीले भने विशेषज्ञ चिकित्सकसहित प्रभावित क्षेत्रमा पुगेर बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूको रोग र अवस्थाअनुसार आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराएको छ ।
सर्वस्व गुमाएका पीडितका लागि उपचार खर्च जुटाउनु मात्र होइन, दैनिक सेवन गर्नुपर्ने औषधि किन्नु पनि चुनौती बनेको थियो । कारञ्जितको अवस्था त्यसको एउटा उदाहरण हो । पेट भर्न राहतमा पाएको चाउचाउसमेत बेचेर जीवन जोगाउन आवश्यक औषधि किन्नुपर्ने अवस्थामा पुगेका उनले केएमसीको शिविरमा आएपछि उपचारसँगै आफूलाई आवश्यक औषधि पनि निःशुल्क पाएकोमा खुशी छन ।
बाढीपीडितका लागि राहतको अर्थ खाद्यान्न र बस्ने ठाउँमा मात्र सीमित हुँदैन । नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि समयमै औषधि पाउनु जीवन जोगाउने महत्वपूर्ण आधार हो । डा.सुनील शर्माको पहलमा केएमसीले सञ्चालन गरेको शिविरले उपचारसँगै आवश्यक औषधि उपलब्ध गराएपछि शिविर बाढीपीडितका लागि स्वास्थ्य उपचारको भरपर्दो सहारा बनेको छ ।