– दुर्गा खनाल
एकबर्ष अघि भदौ २३ र २४ मा भएको जेनजी विद्रोह नेपालका स्थापित राजनीतिक दलका नेताहरुको असफलता तथा झनझन गीर्दो अवस्थामा पुगेको देशको आर्थिक अवस्थाको नतिजा थियो भन्ने राजनीतिक भाष्य अहिले जताततै सुनिन्छ ।
जेनजी विद्रोह तत्कालीन सरकारले अपनाएको असन्तुलित र गलत आर्थिक र राजनीतिक नीतिका कारण जनतामा बढेको तीव्र असन्तोषका बिरुद्ध तन्नेरी पुस्ताको सक्रियतामा भएको थियो । त्यसैले होला, राजनीतिक क्षीतिजमा एउटा निकै जोडदार नारा घन्कियो : “अबको पालो युवाको !” यो नारा पार्टीका आन्तरिक बैठकदेखि निर्वाचन अभियानसम्म सबैतिर गुन्जियो । बिश्वका सबै देशका राजनीतिलाई उमेरको तराजुमा जोख्ने चेष्टा सँधै हुने गरेकोछ । यसमा गम्भीर प्रश्न उठछ : के कुनै नेता शारीरिक रूपमा युवा हुँदैमा उसको सोच र कार्यशैली पनि जनपक्षीय हुनसक्छ ?
पछिल्लो समयको नेपाली राजनीतिमा नेतृत्वमा युवा–को बहसले नयाँ मोड लिएको छ । नेपाली कांग्रेसभित्र ‘सुधार र पुस्तान्तरण’को ध्वजवाहक बनेका गगन थापा अन्ततः विद्रोह र विशेष महाधिवेशनमार्फत पार्टीको सभापति भए । स्थानीय निकायबाट उदाएका बालेन साह राष्ट्रिय राजनीतिमा निर्णायक नेतृत्वमा पुगे । उमेर, जोश र लोकप्रिय भाषणका दृष्टिले उनी अहिले आशाका दीपक बनेका हुन । अहिले एउटा तीतो सत्य उजागर हुदै छ : राजनीतिमा ‘युवा’ ब्यक्तित्वहरुको प्रवेशमात्रै देशको आर्थिक र सामाजिक विकासको ग्यारेन्टी होइन ।
वर्षौँदेखि ‘पुराना’ र बूढा नेताहरूको कब्जामा रहेकाले मात्रै सँधै आलोचनामा परेको नेपाली कांग्रेसमा गगन थापा जस्ता युवा नेताहरू अहिले ‘निर्णायक’ तहमा उपस्थित छन । उनी महामन्त्रीका रूपमा शक्तिको अभ्यास नगरेका पात्र होइनन । तर, बिशेष महाधिवेशन पछि पनि पार्टीबाट गुटबन्दीको अन्त्य, भागबण्डा र अवसरवादी राजनीतिको समाप्ति तथा पार्टीको सैद्धान्तिक जगलाई सुदृढ गराउने प्रयत्न शुरु भएको देखिएको छैन । युवा नेताहरुको भाषणका शैली जतिसुकै रोचक भएपनि भाषणले ठोस परिवर्तन हासिल हुने वाला देखिदैन ।
देशका प्रधानमन्त्री वालेन साह र गगन थापाका बिचारहरु धेरै हदसम्म मिलेको देखिन्छ । दुवैमा युवाहरुलाई जोस्याउने र बूढाहरुलाई हेप्ने प्रवृत्ति निकै समान देखियो । दुबैको ब्यक्तित्व लोकतान्त्रिक प्रणालीमा चाहिने ‘संस्थागत समन्वय’, ‘राजनीतिक धैर्य’ र ‘सर्वपक्षीय संवाद’को सट्टा लोकरिझ्याइँमा अल्मलिएको देख्न सकिन्छ । पुरानो पुस्ताको आलोचना गरेर सहानुभूति बटुल्न सजिलो छ । तर आक्रोशपूर्ण अभिब्यक्तिले राज्य–संयन्त्र चलाउन सकिदैन ।
फ्रान्समा युवा र ऊर्जावान् नेताका रूपमा इमानुएल म्याक्रोन राष्ट्रपति बने । उनलाई फ्रान्सेली राजनीतिमा नयाँ युगका प्रणेताका रूपमा हेर्न थालिएको थियो । तर, उनले सर्वसाधारण र श्रमिक वर्गले भोग्नु परेका ठूला समस्यालाई सम्बोधन गर्न सकेनन । अहिले उनका विरुद्ध दिनहुँ जस्तो विरोध कार्यक्रम हुने गरेकाछन । बेलायतका प्रभावशाली युवानेताका रुपमा ऋषि सुनक प्रधानमन्त्री चुनिए । तर, पार्टीभित्रको आन्तरिक कलह र बिश्वब्यापि आर्थिक मन्दीका कारण उत्पन्न समस्याले उनलाई सत्तामा टिक्न दिएन । उनले छोटो समयमा नै सत्ताच्युत हुनु पर्यो । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मारिनले विश्वभर निकै प्रशंसा कमाएकी थिइन । देशभित्रको आर्थिक समस्या र प्रशासनिक सन्तुलन मिलाउन नसक्दा उनले पनि सरकारबाट विदा लिनुपर्यो ।
राजनीतिमा युवाहुनु आफैँमा कुनै राजनीतिक दर्शन होइन । उमेरले मानिसलाई शारीरिक जोश दिन्छ । तर, विचार, नीतिगत स्पष्टता, दूरदर्शिता र परिपक्वता उमेरको अङ्कसँग सिधै जोडिएका हुँदैनन् ।
राजनीतिमा कोही पनि बुढो वा युवा हुँदैन । राजनीति विचार, निष्ठा र दूरदर्शितापूर्ण खेल हो । देशलाई आधुनिक र जनपक्षीय दिशामा लैजाने दूरदृष्टि राख्छ भने नेता ८० वर्षको वृद्ध भएपनि उ नै युवा सोचको युवा नेता हो । ३६ वर्षको युवा नेताले उही गुटबन्दी, भ्रष्टाचार, पपुलिजम र अवसरवादको खेती गर्छ भने उमेरले युवा भए पनि उसको राजनीतिक सोच ‘बुढो’ भइसकेको हुन्छ ।
हाम्रो समाजमा पछिल्लो समय उमेरकै आधारमा अग्रजहरूलाई उपेक्षागर्ने र ‘युवा’ शब्दलाई अन्धभक्तिको आधार बनाउने कार्य भइरहेको छ । लोकतन्त्रमा सबै पुस्ताको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । पुराना पुस्तासँग दशकौँको अनुभव, धैर्य, राजनीतिक सङ्घर्षको इतिहास र सन्तुलन कायमराख्ने परिपक्वता हुन्छ भने नयाँ पुस्तासँग नयाँ प्रविधि, गति, ऊर्जा र नवीन सोच हुन्छ । पुरानाको अनुभव र परिपक्वता सँग नयाँको जोश र आधुनिकताको सार्थक समन्वय आवश्यक हुन्छ ।
राजनीतिमा उमेरभन्दा बढी राजनीतिक परिपक्वताको खाँचो हुन्छ । राज्य सञ्चालन भनेको सामाजिक सञ्जालको स्टन्ट होइन । राजनीति समाजका विविधता, आर्थिक जटिलता, कूटनीतिक सन्तुलन र कानुनको शासनलाई जोडेर लैजाने प्रक्रिया हो । राजनीतिमा सधैँ ‘युवा’ भनेर मात्र हुदैन । उमेरले मात्रै देश बदलिँदैन । देश बदल्नका लागि परिपक्व सोच र एक पुस्ताको अर्को पुस्ताप्रति सम्मानको आवश्यकता पर्छ ।