‘सुकिला–मुकिला’ले ढाकिदै कांग्रेस - रुपान्तरण
 २०८३ आश्विन ३, शनिबार    

‘सुकिला–मुकिला’ले ढाकिदै कांग्रेस


- रुपान्तरण टिप्पणी

बीपी कोइरालालाई लोकतन्त्र आएपछि ‘सुकिला–मुकिला’बाट पार्टी कब्जाहुने चिन्ता थियो । उहाँ गरीब–किसानको चिन्ता गर्नुहुन्थ्यो । लोकतान्त्रिक समाजवादीका रुपमा सुप्रसिद्ध नेताका चिन्तन गरीबका पक्षमा हुनु अस्वाभाविक थिएन । अहिले बीपीको देहावशान भएको चार दशकभन्दा बढी समय वितिसकेकोछ । २०४६ सालको ऐतिहासिक जन–आन्दोलनले राजाको प्रत्यक्ष नेतृत्वमा चलेको निर्दलीय पन्चायत ब्यबस्थाको बिस्थापन गरेपछि संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्र अन्तर्गत एक दशकभन्दा बढी समय शासन–प्रशासन संचालन भै सकेको थियो । २०६२–६३ को आन्दोलनले देशबाट राजतन्त्रलाई विस्थापित गरेर गणतान्त्रिक शासन स्थापित भएको पनि तीन दशक बिति सकेकोछ ।

बीपीले चिन्तागर्नु भएजस्तै, यतिबेला नेपाली कांंग्रेस पार्टीमा सुकिला–मुकिलाहरुको बर्चस्व स्थापित हुन थालेकोछ ।  कांग्रेस पार्टीको स्वरुप बदलिएकोछ । देउवा पक्षको होस् वा गगन पक्षको होस्, कांग्रेसमा सुकिला–मुकिला नेता र कार्यकर्ताको वर्चस्व बाक्लैसंग झांगिएकोछ । ठाडो आँखाले हेर्दा राजनीति महंगो भएकोछ ।

यी सुकिला–मुकिला नेताहरु पार्टीको नीति र सिद्धान्तका आधारमा काम गर्दैनन । यी नेता र तिनका कार्यकर्ताहरु गरीव किसानले दिएको भोटको आधारमा शासन–सत्तामा पुग्दछन । त्यसपछि ती किसानप्रति किंचित संंवेदनशील देखिदैनन । कांग्रेसले गरीब–किसानको हितमा कामगरेको भए यतिवेला उसको जनाधार खस्किने थिएन ।

अहिले कांग्रेस दुई समूहमा विभाजित भएकोछ । बीपी कोइरालाका सुपुत्र शशांक कोइरालाको नेतृत्वमा बनेको समूहलाई पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवाको साथ रहेकोछ । पार्टीका महासचिव गगन थापाको रुचि र चाहना अनुसार सुनियोजित रुपमा काठमाडौंको भृकुटी मण्डपमा बिशेष अधिवेशन गरेर कांग्रेसका सभापति ‘छानिएका’ गगन थापाले कांग्रेसको केन्द्रीय कार्यालय कब्जा गरेका छन ।

अहिले शशांक र गगनको नेतृत्वमा रहेका दुबैथरि कांग्रेसीहरुमा ‘सुकिला–मुकिला’ वर्गका प्रतिनिधिहरु बढी देखिन्छन । उनीहरुले आजको ‘लिंगोदर’ सभ्यतामा द्रव्यको महत्व बुझेका छन । यो अनौठो कुरा होइन । उहिलेका कांग्रेसीहरु प्रजातन्त्र पुनस्र्थापनाका लागि राजनीतिमा होमिन्थे । जेल–नेल सहन्थे । यातना खेप्दथे । अहिलेका कांग्रेसीहरु ठाडै भन्छन –जोगी बन्न राजनीति गरेको हो र ?

हिजो विहीबार र आज शुक्रबारको सामाजिक सन्जालमा शेरबहादुर देउवाको पक्षमा रहेका कांग्रेसका कार्यकर्ताहरु गगनको शरणमा पुगेका सूचनाहरु ओइरिए । गगनको साथ छाडेर देउवाको पक्षमा एकजना कार्यकर्ता पनि आएको सूचना देखिएन । जेनजी विद्रोहका नाममा आफनै घरमा भएको घातक आक्रमणपछि गम्भीर रुपमा घाइते भएका सभापति देउवा सैनिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विदेश गएदेखि कांग्रेसको गगन पक्ष बढी नै चलायमान देखिएको थियो । केही कार्यकर्ता त देउवा स्वदेश नफर्किने हल्ला चलाइ रहेका थिए । तर, देउवा फर्किएपछि त्यो पक्ष झन बढी चलायमान देखिएकोछ ।

नेपाली कांग्रेसमा कार्यकर्ताका रुपमा जनता आउने–जाने गरिरहन्छन । यो त्यति ठूलो कुरो होइन । तर, यो पनि उत्तिकै सत्य हो : कांग्रेसका भुईं तहका कार्यकर्ताहरु पार्टी एक भएको हेर्न चाहन्छन । आफनो पार्टीको चारतारे झण्डा च्यातिएको र चुनाव चिन्ह रुख काटिएको हेर्न कोही चाहँदैनन ।