- किशोर नेपाल
अघिल्लो बर्ष भदौको २३ र २४ गते भएको जेनजी विद्रोहको परिणाम स्वरुप गएको फागुन २१ मा भएको ‘असामयिक’ चुनावले संघीय गणतन्त्र नेपालको शासन, प्रशासन र नियमित खालको सुस्त गतिको राजनीतिमा ठूलो उथल–पुथल ल्यायो । ती परिवर्तनका असरहरु अहिले सतहमा आउन थालेकाछन । देशको राजनीतिक अवस्था अझै सम्हालिएको छैन । राजनीति र प्रशासन आफनो गतिमा आइपुग्न थप केही समय लाग्नेछ ।
खास गरेर, नेपालमा लोकतान्त्रिक राजनीतिको ‘माउ’ पार्टीको रुपमा रहेको नेपाली कांग्रेस र २०४६ सालमा नेपाली राजनीतिका ‘लौहपुरुष’ गणेशमान सिंहको नेतृत्वमा भएको पहिलो जन–आन्दोलनका सहयात्री रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादीेको सरकारको ‘अविच्छिन्न कुशासनका विरुद्ध’ भनिएको जेनजी विद्रोहको नालीबेलीको चर्चा पनि अव समीचीन रहेन । जेनजी आन्दोलन पृष्ठभूमिमा परिसक्यो ।
पन्चायतकालमा राजा महेन्द्र ‘देशका लागि दलीय ब्यबस्था अफाप सिद्ध भएको’ नारा लगाउँथे । त्यही नाराको भरमा राजाको सक्रिय नेतृृत्वमा शुरु भएको निर्दलीय शासन तीस बर्ष चलेको थियो । त्यो शासनको अन्त्य २०४६ मा भएको थियो । त्यसपछिको समयमा पनि नेपाली राजनीति स्थीर रहेन । कहिले कांग्रेस भित्रको आन्तरिक व्दन्व्द, कहिले एमालेसंगको असहमति र त्यसपछिको माओवादी जनयुद्धका कारण नेपाल र नेपालीको भाग्य निर्माणका काम हुनै पाएनन । त्यसपछि आयो २०६२–६३ को जनआन्दोलन र संघीय गणतन्त्र नेपालको घोषणा । २०६२–६३ पछि बल्ल राजनीतिक स्थायित्व आउला आउला जस्तो स्थितिमा पुगेको थियो । लामो रस्साकसीपछि २०७२ देखि राजनीति लयमा फर्किन थालेको हो ।
गत बर्ष भदौमा भएको जेनजी विद्रोहको राप र तापमा फागुनमा सम्पन्न भएको चुनाव नेपाली कांग्रेस, एमाले र माओवादी लगायतका दलहरुका लागि अफाप सावित भयो । रवि लामिछानेको नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगर पालिकाका पूर्वमेयर वालेन साहसंगको सहकार्यमा, उनैलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ को चुनाव लड्यो । चुनाव परिणाम रास्वपाको पक्षमा गयो । रास्वपाले प्रतिनिधि सभालाई आफनो कब्जामा लियो ।
चुनावी राजनीतिको यो परिदृश्यमा सबैभन्दा बढी घात–प्रतिघातको शिकार भए नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष अधिवेशनको आयोजना गरेर जेनजी आन्दोलनका नाममा आएका आक्रमणकारीहरुले मरणासन्न अवस्थामा पुर्याइएका कांग्रेस सभापति शेरबहादुर देउवालाई अपदस्थ गरे । चुनावको मुखैमा भएको त्यो बिशेष अधिवेशन ‘जायज’ थियो कि ‘नाजायज’ ? यो प्रश्नको जवाफ के दिनुपर्ने हो ? कसरी दिनुपर्ने हो ? यो कुरा कांग्रेसीहरु आफैले सोचुन र बुझुन ।
फागुन २१ गते भएको चुनावमा गगन थापा र उनले हस्ताक्षर गरेको उम्मेदवारीको पत्र बोकेर चुनाव लडन पुगेका अधिकांश कांग्रेसी पराजित भए । उनीहरुको यो पराजय अस्वाभाविक थिएन । आफनो राष्ट्रिय छवि स्थापितगर्ने जोश सहित चुनाव लडन सर्लाही पुगेका गगन थापा रास्वपाका नेता अमरेशकुमार सिंहसंग पराजित भए । सर्लाहीमा गगनको ‘चमत्कारिक’ ब्यक्तित्वले काम गरेन ।
चुनावपछि आफूले कब्जा गरेको कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बैठकमा गगनले चुनावमा भएको पराजय स्वीकारगर्दै नाटकीय ढंगले ‘सभापति’ पदबाट राजिनामा दिए । त्यसलाई उनका घनिष्ठ मित्र विश्वप्रकाश शर्माले उत्तिकै नाटकीय ढंगले तत्काल अस्वीकृत गरे ।
कम्युनिष्ट पक्षका लागि त चुनावी परिणाम झनैै दुःखदायी रह्यो । कांग्रेससंग ‘आलोपालो’ प्रधानमन्त्री पद चलाउने सम्झौता गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफनै निर्वाचन क्षेत्रबाट चुनाव हारे । उनको हातमा रहेको ‘सत्ता’ रास्वपाका उम्मेदवार वालेन साहको हातमा गयो । अहिले ओली पार्टीभित्र विवादको भूमरीमा परेका छन । कम्युनिष्ट–कांग्रेस दुबै पक्षका शीर्ष नेताहरुमा पुष्पकमल दाहाल प्रचण्ड मात्रै आफनो साख जोगाउन सफल भए । रुकुमका जनताले प्रचण्डको साथ दिएर उनको साख जोगाइ दिए ।
यतिबेला नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) आन्तरिक रडाकोमा परेका छन । कांगे्रस दुई समूहमा विभाजित भै सकेकोछ भने एमाले विभाजनको डीलमा छ । तै, नेतृत्व पंक्तिमा रहेका एमालेका नेताहरु केपी ओलीलाई अध्यक्षपदबाट हटाएर एमालेलाई साबूत राख्न चाहन्छन । ओली भने देशको सत्ताबाट च्यूत भएपनि पार्टीको सत्ता छाडन तयार देखिदैनन ।
जेनजीका नाममा आएका असामाजिक तत्व र हुल्याहाहरुको आक्रमणमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सैनिक अस्पतालमा प्रारम्भिक उपचार गराएर थप उपचारका लागि विदेश लागेका थिए । उनी लामै समय विदेशमा रहँदा देशमा उनका बारेमा नानाथरि हल्ला चल्न थालेका थिए । तर, उनी केही दिनअघि मात्रै स्वदेश फर्किएर पार्टी गतिविधिमा सक्रिय हुन थालेकाछन । उनको आगमनसंगै कांग्रेसका सबै ‘गुट’ सक्रिय भएका छन । ठूलै रडाको मच्चिएकोछ कांग्रेसमा ।
देउवाले शान्त स्वभावका भद्र ब्यक्तित्व तथा सुप्रसिद्ध नेत्र चिकित्सक डा.शशांक कोइरालालाई महाधिवेशनको संयोजक बनाएर पार्टीमा आफनो पकड र प्रभाव मजबूत बनाउने रणनीति लिएको देखिन्छ । नेपाली राजनीतिमा बीपी कोइरालाका कान्छा सुपुत्र शशांक कांग्रेस राजनीतिमा अहिले देखिएका बिकृतिहरु हटाउन प्रभावशाली हुने आशा धेरैले राखेका छन । उनलाई देउवाका ‘पोष्टरब्वाइ’ भन्नेहरुको पनि कमी छैन । तर, शशांकको चेहरामा बीपीको आकृति झल्किने मात्र होइन उनको बोली पनि विवेकी र तार्किक सुनिन्छ ।
देउवा नेतृत्वको कांग्रेसले पार्टी विवादको टुंगो लगाउन सर्वोच्च अदालत पनि गुहारेकोछ । त्यताबाट आउने आदेश सकारात्मक अथवा नकारात्मक के हुनेछ ? अनुमान लगाउन सकिदैन । देउवा पक्षका मानिने कांग्रेसका कतिपय नेताहरु पछिल्लो समयमा गगनतिर लहसिन थालेका छन । पार्टीभित्र इमान्दार र मध्यमार्गीका रुपमा परिचित पूर्ण खडका जस्ता नेताहरु अहिलेपनि ‘किं कर्तब्यविमूढ’ मनस्थितिमा देखिएकाछन । पछिल्लो समयमा कांग्रेसभित्र उनी नजीक मानिएका उनका केही ‘हितैषीहरु’ गगन पक्षमा खुल्न थालेका छन । उनीहरु मध्ये एकजनाको भनाइ थियो : म जोगीहुन राजनीतिमा लागेको होइन ।