उनीहरु म संग भागी रहेकाछन् : शेरबहादुर देउवा - रुपान्तरण
 २०८३ आश्विन १७, शनिबार    

उनीहरु म संग भागी रहेकाछन् : शेरबहादुर देउवा


– रुपान्तरण संवाददाता
यो पूरै साताको तातो राजनीतिक खवर बनेकोछ : नेपाली कांग्रेस । यसको मुख्य विन्दूमा रहेका छन – साविकका सभापति शेरबहादुर देउवा र भृकुटी मण्डपमा आयोजित बिशेष अधिवेशनले बनाएका सभापति गगन थापा । कतिपय राजनीतिक बिश्लेषकहरुले यसलाई पुस्तान्तरणको झगडा बताएका छन । तर, यो पुस्तान्तरणको झगडा नभएर ‘विशेष’ सभापति गगन थापाको उच्च महत्वाकांक्षाले सिर्जना गरेको विवाद हो भन्नेहरु धेरै छन ।

अपहरणको शैलिमा ‘बिशेष’ सभापति बनेका गगन आफनो आधिकारिकता स्थापित गर्न बोलेको बोलेकै छन भने अहिलेसम्म चूपचाप रहेका ‘साविक’ सभापति शेरबहादुर देउवाले आफना सहयोगी पत्रकार बद्री सिग्देल मार्फत केही प्रश्न राखेका छन ।
साथीहरु म ओरालो लागेकोे देखेर होला, उता गएका होलान । अदालतको आदेशपछि ती फर्केर यतै आउँछन : सिग्देलसंगको संवादमा देउवाले भनेका छन ।

पन्चायत, गिरिजाप्रसाद, तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी हिंसाका समयमा पनि साथ नछोडेका साथीहरुले देउवासंग छलफल र सरसल्लाहसम्म नगरी साथ छाडेका छन । तर, उनको आशा छ : अदालतले कांग्रेस सभापतिका रुपमा आफनोे वैधानिकता कायम गरेपछि ती आफूतिर फर्किने छन ।

सभापति देउवा न्यायको खोजीमा छन । प्रश्नगर्न उनको निवास पुगेका सिग्देलले देउवाका प्रश्नहरुको सामना गर्नु प¥यो । देउवाका केही प्रश्न यस्ता थिए : 

के मैले न्याय पाउनु पर्दैन ?

चौधौं महाधिवेशनबाट निर्वाचित सभापति को हो ?

निर्वाचित सभापतिलाई कसले र कसरी हराउँछ ?

भदौ २४ मा भएको घटनामा हामी सपरिवार झण्डै मारिएका होइनौं ?

हामीले देशको खिलाफमा त्यस्तो के गरेका थियौ ?

बालापनदेखि नै प्रजातन्त्रका लागि लडनु के मेरो गल्ती थियो ?

बिशेष महाधिवेशन सभापतिको सहमतिमा केन्द्रीय समितिले आयोजनागर्ने होइन ?

देउवाका यी प्रश्नहरु मार्मिक छन । उनको आशंका छ : विधि र विधान नास भएको त होइन ? सर्वोच्च अदालतले पुनरावलोकनगर्ने भनेको अवस्थामा महाधिवेशन नरोकिनु दुःखद होइन ?

देउवाको टिप्पणी थियो – हामी रगतै रगतमा लत्पतिएर अस्पतालमा उपचार गराइ रहँदा सभापतिलाई के भयो भनेर सोध्न को आयो ? घाइते सभापतिको शारीरिक र कानूनी उपचारपट्टि नलागेर उसलाई हटाउन हस्ताक्षर अभियान थालिनु मानवीय काम हो ?

विशेष अधिवेशन आयोजनागर्ने पक्षतिर संकेतगर्दै देउवाले भने : हाम्रोभन्दा अरुको कति मायाँ लाग्न सकेको होला !

देउवाका प्रश्नहरु निर्वाचन आयोगतिर लक्षित थिए : त्यस्तै भीड जम्मा गरेर हामी पनि निर्वाचन आयोगमा गए मान्यता पाइने हो ?
शेरबहादुर देउवाको दृढ भनाइ थियो : म त अहिले पनि मिल्न र मिलाउन तयार छु । तर, ‘उहाँहरु’ म संग भागी रहनु भएकोछ । किन भाग्दै हुनुहुन्छ ? त्यसको कारण के हो ?