हामी सबै नेपालीका लागि बडा दशैं शुभ रहोस ! - रुपान्तरण
 २०८३ कार्तिक ३, सोमबार    

हामी सबै नेपालीका लागि बडा दशैं शुभ रहोस !


- रुपान्तरण

हाम्रा पाठक, शुभचिन्तक र सम्पूर्ण नेपाली जनतामा विजया दशमी अर्थात दशैंको मंगलमय शुभकामना !

गत बर्षको विजया दशमी त्राशको छायाँमा मनाइएको थियो । यो पटक भोटेकोशीबाट आएको हिम–प्रलय र गण्डकीमा आएको जल प्रलयले नेपालीको जीवन दुःखमय बनाएको छ ।

नेपालको सातै प्रदेशमा बस्ने तथा रोजगारीका लागि बिदेशिएका नेपाली जनताको साझा चाड दशैंको रिमझिम मलीन भएकोछ । थोरैमा पनि धेरै रमाउने नेपालीले खुला मनले चाडबाडको आनन्दलिन पाएका छैनन । तर, नेपाली जनताको स्वभाव दुःखमा आत्तिने र सुखमा मात्तिने खालको छैन । सरल र निष्कपट स्वभावका नेपाली जस्तोसुकै कठिन समयमा पनि हाँस्न र रमाउन सक्दछन । उनीहरुको मौलिक चरित्र यही नै हो ।

नेपाली जनताको मुहार हँसिलो बनाउन गरिएका सरकारी प्रयासहरु सफलहुन सकेका छैनन । २००७ सालको जनक्रान्तिपछि पटक पटक भएका राजाको प्रत्यक्ष शासन, २०१५ सालको संसदीय निर्वाचनपछि शुरु भएको प्रजातान्त्रिक शासन, २०१७ सालमा राजा महेन्द्रव्दारा प्रजातन्त्रको अपहरणपछि उनको सर्वोपरि नेतृत्वमा शुरु भएको निर्दलीय पंचायती सरकार, त्यसपछि २०४६ सालको निर्णयात्मक जन–आन्दोलनपछि प्रारम्भ भएको वहुदलीय प्रजातान्त्रिक शासन ब्यबस्था – नेपाली जनताले राजनीतिक परिवर्तनका यी सबै घटनाक्रमहरुको विशद अनुभव संगालेकाछन । वहुदलीय प्रजातान्त्रिक शासन ब्यबस्था स्थापना भएको आधा दशक पनि नवित्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले शुरु गरेको जनयुद्धका कारण झण्डै एक दशकपछि संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । संघीय गणतन्त्रको स्थापनामा माओवादी र संसदवादी पार्टीका बीच अभूतपूर्व एकता भएको थियो ।

कुनैपनि देशको विकासका लागि स्रोतहरुको सुदृढ ब्यबस्थापन आवश्यक हुन्छ । गणतन्त्र स्थापनापछि देशको राजनीतिक नेतृत्वले विकासका बाटो पहिल्याउन सकेनन । नेपालको विकासका लागि आन्तरिक स्रोतहरुको कमी थिएन । तर, ती स्रोतहरुको परिचालन र ब्यबस्थापन सही ढंगले हुन सकेन । यसले गर्दा एकातिर देशमा भ्रष्टाचार बढ्यो । अर्कोतिर, जनता कामको खोजीमा देश विदेश भौंतारिन थाले । कोही खाडी देशहरुमा रुमल्लिए भने कोही ‘डंकी रुट’ समातेर अमेरिका पस्न थाले । जनतामा असन्तोष फैलिदै गयो ।

हिजोको राजनीतिक व्दन्व्दको त अन्त्य भयो । तर, त्यो भन्दा पनि विकराल व्दन्व्द शुरु भयो : सामाजिक र आर्थिक व्दन्व्द । यी दुबै व्दन्व्द खतरनाक सावित भइ सकेका छन । पोहोर सालको जेनजी विद्रोह सामाजिक र आर्थिक व्दन्व्दका परिणाम थिए । मुख्य राजनीतिक दलका सर्वोच्च नेताहरुले त्यस्तो व्दन्व्दको कल्पना नै गर्न सकेका थिएनन । त्यो व्दन्व्दको आडमा देशको सुरक्षाको जिम्मा लिएका उच्चपदस्थ ब्यक्तिहरुले शासनमा हस्तक्षेप गरे । निर्वाचित संसद विघटनमा परेको छ महिना मै चमत्कारिक ढगंले अर्को संसदको निर्वाचन भयो ।

नयाँ चुनावले पुराना भनिएका राजनीतिक दलहरुको वर्चस्व त खुम्च्याइ दियो, तर देशको शासन–प्रशासनमा जनताले चाहेजस्तो परिवर्तन ल्याउन सकेन । संसद र सरकारमा पुगेका प्रायः नेताहरु स्वार्थ केन्द्रीत देखिए । प्रधानमन्त्री वालेन्द्र साहले पटक–पटक संसदीय मर्यादाको उल्लंघन गरेको देखियो । संसद र संस्थाहरुप्रति जिम्मेवार हुन नपर्ने सल्लाहकारहरुको ठूलो समूह बटुलेर ‘हुकुमी’ शैलिमा शासन चलाउन खोजेको देखिन्छ । अहिलेको राजनीतिक प्रयोगले देशले भोग्नु परेका जटिल समस्याको समाधानगर्ला भन्ने आशा कमैले राखेकाछन ।

नेपाली जनताका नाममा आजसम्म भएका राजनीतिक प्रयोगहरुको न कुनै नतीजा आएको छ, न अव आउने सम्भावना नै छ । प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाइ सदस्य जिताउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको राजनीतिक ध्येय र धारणा अस्पष्ट देखिन्छ । त्यसो त, राजनीतिक हिसावले परिपक्व मानिने कांग्रेस, एमाले र माओवादीका सैद्धान्तिक र राजनीतिक मान्यताहरु अलपत्र हुँदै गएको अवस्थामा नयाँ राजनीतिक दलको चर्चा नै किन गर्नु ?
देश कठिनतम अवस्थाबाट गुज्रिइ रहेको समयमा हामी ‘रुपान्तरण’ का तर्फबाट हाम्रा पाठकहरु, स्तम्भकार तथा हितचिन्तकहरुप्रति आभार ब्यक्तगर्न चाहन्छौं । हामी नेपाली सबैका लागि बडा दशैं शुभ रहोस !