सवाल रुपैयाँ अठार करोडको – सन्दर्भ कांग्रेसको... - रुपान्तरण
 २०८३ कार्तिक १८, मंगलबार    

सवाल रुपैयाँ अठार करोडको – सन्दर्भ कांग्रेसको...


– रुपान्तरण विशेष

‘स्वतन्त्र, निष्पक्ष र भयरहित’ वातावरणमा सम्पन्न पछिल्लो संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदिने नेपाली जनता यतिबेला रुनु न हाँस्नुको मनस्थितिमा छन । रास्वपाका तर्फबाट प्रधानमन्त्री बनेका वालेन साह संसदीय मर्यादाहरुमा बाँधिन चाहँदैनन । प्रधानमन्त्रीका रुपमा उनले आफनो ‘मर्यादा’ आफै निर्धारण गरेका छन । उनी सामाजिक संजाल ‘फेसबुक’ मार्फत आफूलाई अभिब्यक्त गर्दछन । उनी काठमाडौं महानगरपालिकाको मेयर हुँदै आफना ‘स्टाटस’हरुमा बडो उदारतापूर्वक अंग्रेजी भाषाको ‘फक’ शव्दको प्रयोग गर्ने गर्दथे । राष्ट्रभाषा नेपालीमा ‘फक’ शब्दको अर्थ अश्लील मानिन्छ । तै पनि, त्यसको प्रतिकारमा भाषाविद्हरुले केही बोल्नु जायज ठानेका छैनन । प्रधानमन्त्रीका रुपमा वालेनका गतिविधि रोचक देखिन्छन । उनले आफना अन्तरंग मित्रहरुको निकै ठूलो जत्थालाई सिंह दरवारमा रहेको प्रधानमन्त्रीको कार्यालयमा भित्य्राएका छन । शासन भन्नुहोेस, कुशासन भन्नुहोस, दुःशासन भन्नुहोस – अजव नेपालमा गजवको शासन चलेको छ ।

प्रधानमन्त्री वालेनको शासनकाल शुरु भएपछि गरीव नेपालीको नाममा देश र विदेशबाट आएको कानूनी-गैरकानूनी र वैधानिक-अवैधानिक धन-पैसाको फेहरिस्त सार्वजनिक हुन थालेका छन । भर्खरै, एकजना तन्नेरी प्रकट भएका छन : इनम सापकोटा । उनको योग्यता गजबको देखिन्छ । उनी सामाजिक संजालमा ‘विव्दान’ र ‘विचौलिया’ का रुपमा एकैसाथ चिनिएका छन । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरादेखि वर्तमान प्रधान न्यायाधीश मनोजकुमार शर्मासम्म उनको सहज पहूँच जस्ता विषय चर्चामा आएकाछन ।

इनमको विभिन्न राजनीतिक पार्टीका नेताहरुसंग मधुर सम्बन्ध रहेकोछ । नेपाली कांग्रेस विभाजनका उद्देश्यले रत्नपार्कको खुला मन्चमा आयोजित बिशेष अधिवेशन पछि इनमले अदालतमा चलिरहेको आधिकारिकता सम्बन्धी विवादको टुंगो लगाउन विशेष अधिवेशनव्दारा बनेका कांग्रेस सभापतिको हातमा हाली दिएको १८ करोड नेपाली रुपैयाँको ‘योगदान’ अहिले उल्लेखनीय चर्चाका रुपमा चारैतिर फैलिएको छ ।

इनमको यो योगदानको संयोग जुटाइदिने ब्यक्तित्वका रुपमा शिक्षा क्षेत्रका उत्कृष्ट ब्यवसायी तथा लिटिल एन्जेल्स स्कूलका संस्थापक उमेश श्रेष्ठको नाम जोडिएकोछ । उमेश श्रेष्ठ निकै लामो समयदेखि श्रीमती आरजु देउवाका सहयोगी, बिश्वासपात्र र निकट मानिन्थे । उनी कांग्रेस पार्टीका कोषाध्यक्ष पनि थिए । इनमले तिनै उमेश श्रेष्ठको अभिभावकत्वमा प्रारम्भिक शिक्षा पाएको बताउँछन जानकारहरु ।

‘इनमले जे गरे त्यो ठीक गरे’ भन्नेहरुको संख्या कम छैन । नेपालमा सदाकालदेखि पैसा कमाउनेको मान–सम्मान सवैभन्दा उच्च तहमा हुने गरेको छ । गुरुहरु हामीलाई पढाउनु हुन्थ्यो : ‘धनात्धर्म ततो सुखम !’ अर्थात, पढेपछि धन आउँछ । त्यसपछि धर्म प्राप्तहुन्छ र त्यसपछि सुख प्राप्त हुन्छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएको समयमा फेसबुक लगायतका सामाजिक सन्जाललाई नेपाली कानूनको घेराभित्र कस्न खोजेका थिए । उनले फेसबुक, ट्विटर, टिकटक लगायतका कम्पनीहरुलाई दर्ताको बन्धनमा बाँधेर नियमन र नियन्त्रणगर्न खोजेका थिए । प्रधानमन्त्री ओलीको यो निर्णय देशका लागि महंगो पर्यो । सरकारले सामाजिक सन्जाल विरुद्ध गरेको निर्णयको विरोधमा भएको जेनजी विद्रोह अकल्पनीय थियो । त्यो विद्रोहले संघीय गणतन्त्र नेपालको हुर्मत लियो । नेपाली सेनाको नेतृत्वमा रहेका जर्नेलहरुले नेपाली राजनीति र तिनका नेताहरुको मात्र हुर्मत लिएनन, संघीय गणतान्त्रिक संविधानको हुर्मतलिन पनि कुनै कसर वाँकी राखेनन । नेपाली सेनाको आँखाको सामुन्ने अराजक तत्वहरुबाट विभिन्न पार्टीका नेता तथा कार्यकर्तामाथि घातक आक्रमण भयो, उनीहरुको घरवास जलाइयो । यसको मूल्यांकन हुँदैगर्ला ।

त्यो विभत्स घटनापछि नेपालको राजनीतिक, आर्थिक र सामजिक जीवनमा ‘नयाँ’का नाममा कति विकृति थपिए । अहिले त्यसको लेखाजोखा राख्नसक्ने अवस्था नै रहेन । जे भएपनि, मानिस तीन भौतिक अवतारमा विभाजित हुन्छ : वालक, युवक र बृद्ध । यी तीन चरणमा बाँडिएको मानिसको जीवन समन्वयबाट मात्र सुखी हुनसक्दछ ।

राजनीतिमा लागेका मानिसको सर्वोच्च चाहना नै शासनगर्ने हो । आफनो यो चाहना पूरागर्न मानिस जुनसुकै हदमा जान सक्दछ । उखान छ, धन देखेपछि महादेवको पनि तीन नेत्र खुल्दछ । आजका नेताहरु त झन शक्तिका दासानुदास न हुन....