–रुपान्तरण विशेष
नेपालका प्रधानमन्त्री वालेन साह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसीर छ गते, आइतवार भारत भ्रमणमा जाँदैछन । भारतमा उनको भव्य स्वागत हुनेमा कुनै व्दिविधा छैन । प्रधानमन्त्री वालेनले एकरात भारतमा बिताउनेछन । उनको भ्रमणको सवभन्दा महत्वपूर्ण एजेण्डा तय भै सकेकोछ : नेपालका प्रधानमन्त्री वालेन र भारतका प्रधानमन्त्री मोदीका बीच आधा घण्टा एक्ला–एक्लै वार्तागर्ने घोषणा भै सकेकोछ ।
वार्ताका एजेण्डा के रहनेछन ? यो अहिले थाहहुने कुरो भएन । नेपाल–भारत सम्बन्धको परिप्रेक्ष्यमा नेपाल र भारतका प्रधानमन्त्री बीच वार्ता हुनु अस्वाभाविक होइन । नेपालमा भएको पछिल्लो संसदीय चुनावपछि स्थापित भएको नयाँ प्रधानमन्त्री र उनको सरकार लागि यो भ्रमण महत्वपूर्ण उपलब्धि हुन सक्छ ।
केही समयअघि प्रधानमन्त्री वालेनले ‘भारतले मात्रै नेपालको सीमा मिचेको होइन, नेपालले पनि भारतको सीमा मिचेको’ अभिब्यक्ति दिएका थिए । नेपालमा सरकार भित्र वा सरकार वाहिर रहेका नेताहरु ‘तत्काल’ प्रतिक्रिया दिन्छन र रमाउँछन । प्रधानमन्त्री वालेनको यो अभिब्यक्तिको समर्थन र विरोधगर्ने ब्यक्तिहरुको पनि कमी थिएन । वालेनको यो अभिब्यक्ति “पोलिटिकली करेक्ट” थियो कि थिएन ? त्यो नेपाल–भारतका बीच रहेको ‘जटिल’ सम्बन्धका ज्ञाताहरुले जानुन । किनभने, नेपाल र भारत बीचको सम्बन्ध किन जटिल छ ? भन्ने प्रश्नको उत्तर नेपाल तथा भारतका सीमाविद् र सीमा–रक्षकहरुले अहिलेसम्म आ-आफ्ना देशका जनतालाई खुलस्त बताउन सकेका छैनन ।
पूर्व मेची नदी देखि पश्चिम महाकाली नदीसम्म, नेपाल र भारतको सीमा अहिले पनि निर्वन्ध रहेकोछ । साँध-संधियारका रुपमा वसोवासगर्ने नेपालीको ‘झुप्रो’ भारततिर र भारतीयहरुको ‘करेसावारी’ नेपालतिर परेकोछ भने त्यसलाई अस्वाभाविक भन्न मिल्दैन । पूर्व र पश्चिमका केही महत्वपूर्ण आर्थिक नाकामा सीमा सुरक्षा ‘मजवूत’ भएपनि त्यस्तो मजवूती स्थायी रहेका छैनन । सीमानाका कतिपय ब्यापारिक नाकाहरु दुवै देशको सीमा सुरक्षा वलको तीखो नजरबाट वाहिर रहेका हुन्छन ।
प्रधानमन्त्री वालेनलाई आफनो विदेश भ्रमणको पहिलो गन्तब्य अमेरिकाको न्यूयोर्क शहरलाई बनाउने सौभाग्य मिल्यो । उनी न्यूयोर्क शहरमा अवस्थित र ब्यबस्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्किए । अहिले हुन लागेको भारत भ्रमण वालेनका लागि त्यति सहज देखिदैन । यो कुरा भनिराख्नु पर्दैन, प्रधानमन्त्री मोदी र उनका सहयोगीहरु वालेन्द्र साहको पाखुरा र नाडी राम्रोसंग छाम्न चाहन्छन ।
भारतमा जस्तै नेपालमा पनि विधिको शासन छ । ‘विधि’ को शासन भन्दैमा यो राजनीतिबाट विमुख रहन सक्दैन । पछिल्लो समयमा नेपाल–भारत सम्बन्ध एउटै लयमा चल्न सकेको छैन । ‘आपसी घनिष्ठता’का कारण सम्बन्ध बेलाबेलामा बरालिने गरेकोछ । कहिले व्हात्तै माथि पुग्ने र कहिले व्हात्तै तल ओर्लिने नेपाल–भारत सम्बन्ध ‘ब्यक्तिगत’ र ‘संस्थागत’ दुबै हिसावले संचालित हुने गरेको देखिन्छ । भारत चाहन्छ : आफनो सुरक्षा स्वार्थका पक्षमा नेपाल गम्भीर होस । नेपालको पनि आफनै स्वार्थछ : पानी–पँधेरो जोडिएको छिमेकीले अलिकति सुविधा देओस । दुई देशको सम्बन्धमा ब्यवहारिक पक्ष मजवूत बनोस ।
प्रधानमन्त्री वालेनको यो पहिलो व्दिपक्षीय विदेश भ्रमण हो । यो भ्रमण कति सहज र सौहार्द्रपूर्ण हुन्छ – त्यसमा धेरै कुरा अन्तर्निहीत रहन्छ । अहिलेको परिवर्तनलाई जेनजी विद्रोहको परिणाम बताइएपनि यो सरकार सेनाको आशय बमोजिम बनेको हो । लोकतान्त्रिक समाजका लागि अनिवार्य मानिने संस्थाहरु अहिलेसम्म आफनो गतिमा आउन सकेका छैनन । सबै दलहरुमा विग्रहको बीउ रोपिएकोछ । सरकारमा सामन्जस्यता देखिएको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बिलौना नेपाली राजनीतिक वातावरणमा रंगमंगिएको छ ।
प्रधानमन्त्री वालेनको भारत भ्रमण ‘औपचारिक’ मात्र सावित नहोस । शुभकामना !