धरानको खानेपानी समस्याका भविष्य द्रष्टाको निधन - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

धरानको खानेपानी समस्याका भविष्य द्रष्टाको निधन


धरान । तत्कालिन धरान नगर पञ्चायतका प्रधानपञ्च प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठको बुधवार काठमाडौंमा निधन भएको छ । आज भन्दा ४४ वर्षअघि धरानमा खानेपानीको समस्याको समाधानका लागि सर्दु–खर्दु खोलाको मुहान क्षेत्रलाई राजा वीरेन्द्रबाट जलाधार क्षेत्र घोषणा गराउन सफल भएका थिए । अहिले एडिबीको डेढ अर्ब बढीको ऋण–सहयोगमा भूमिगत शहरी खानेपानी आयोजना पुरा भएपनि उक्त जलाधार ५० प्रतिशत खानेपानीको श्रोतको रुपमा रहेको छ ।

२०३३ सालमा राजा वीरेन्द्र पूर्वाञ्चल विकास क्षेत्र भ्रमणको क्रममा धरान नगर पञ्चायतमा सवारी भएका थिए । सोही अवसरमा प्रधानपञ्च श्रेष्ठले धरानको खानेपानीको श्रोतलाई स्थायी बनाउन जलाधार क्षेत्र घोषणा गर्न विन्तीपत्र चढाएका थिए । राजाको हुकुम अनुसार तत्कालिन सरकारले धनकुटाको भेडेटार दक्षिण, विष्णुपादुका र पाँचकन्या गाबिसको क्षेत्र समेटिएको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरेको थियो ।

जलाधार क्षेत्रका स्थानियबासीलाई सट्टा भर्ना दिएर अन्यत्र सारिएपनि पछिल्लो समय भू–माफियाहरुका कारण पटक पटक हुने विवाद सर्वोच्च अदालत सम्म पुगेको छ । जलाधारबाट वर्षा याममा प्रतिदिन १ करोड, ७४ लाख, ९० हजार र हिउँदमा ४५ लाख लीटर पानी धरानमा आपूर्ति हुन्छ । शहरी खानेपानी आयोजनको भूमिगत श्रोतबाट हिउँदमा १ करोड, ५२ लाख, २० हजार लिटर प्रतिदिन उत्पादन हुने धरान खानेपानी व्यवस्थापन बोर्डको तथ्यांकमा उल्लेख छ ।

श्रेष्ठले प्रधान पञ्च निर्वाचित भएपछि पहिलो पटक नगर पञ्चायतव्दारा पत्रकार सम्मेलन आयोजना गरी धरानको विकास, निर्माणका योजना, बजेट सार्वजनिक गर्ने परम्परा शुरु गरेका थिए । धरानमा खेलकुदको लागि उनकै कार्यकालमा हाल धरान–९ स्थित खेलकुद भवन कभर्डहल निर्माण भएको हो । यसअघि उनि महेन्द्र बहुमुखी क्याम्पसका लोकप्रिय प्राध्यापक थिए । श्रेष्ठलाई सबैले प्रोफेसर भनि सम्बोधन गर्ने भएकाले उनि इन्द्र प्रोफेसरको नामले धरानमा चिनिन्थे ।

७८ वर्षिय प्रोफेसर श्रेष्ठको निधन उनको जीवन संगिनीको निधन भएको ठिक दश दिन पछि भएको हो । श्रीमति बिमला श्रेष्ठको उपचारको क्रममा गत बैशाख १३ गते काठमाडौंमा निधन भएको थियो । स्वर्गिय श्रेष्ठका परिवारीक निकट प्रदेश १ सांसद चन्द्रप्रसाद श्रेष्ठका अनुसार उनको निधन ग्राण्डी अस्पतालमा भएको हो । श्रीमतिको उपचारका लागि काठमाण्डू गएका श्रेष्ठको स्वास्थ्य परिक्षणको क्रममा ट्युमर देखिएको थियो । ट्युमरको उपचारकै क्रममा उनको निधन भएको सांसद श्रेष्ठले बताए । पछिल्लो समय उनि राजनीति बाट अलग रही धरानमा बस्दै आएका थिए ।