रहेनन् लोकप्रिय गायक एवम संगीतकार प्रेमध्वज प्रधान - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

रहेनन् लोकप्रिय गायक एवम संगीतकार प्रेमध्वज प्रधान


काठमाडौं । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार बिहान सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा भर्ना गरिएको उनको विहीबार निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले फेसबुकमार्फत जनाएका छन् ।

८४ वर्षीय प्रधानको स्वास्थ्यमा समस्या देखिएपछि १२ दिनदेखि सोही अस्पतालमा उपचाररत थिए । प्रधानलाई कोभिड संक्रमणको आशंका गरिएपनि रिपोर्ट नेगेटिभ आएको थियो ।

उनको विहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ । उनका घुम्तीमा नआऊ है, तिमीलाई अचेल कहाँ देखुँलगायत थुप्रै कालजयी गीतहरु लोकप्रिय छन् । गायक प्रधानले नेपालको पहिलो व्यवसायिक चलचित्र ‘माईतीघर’ मा ‘नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका थिए ।

उनको मृत्युबारे लक्ष्मण शेषले लेखेका छन्–‘अमर श्रष्टा तथा अजर अमर गायक श्रद्देय प्रेमध्वज प्रधानको स्वर्ग महाप्रस्थानको खबर आयो । उहाँको अन्तिम श्रद्दाञ्जलीका लागि सुरक्षित रही नियमानुशार सहभागि भइदिनु हुन सम्पूर्ण श्रष्टा जगत र गीत संगीतसम्बन्धि सम्पूर्ण संघ संस्थाका पदाधिकारीज्युहरुलाई सुन्धारास्थित न्युरो हस्पिटलमा सहभागी भइदिनु हुन विनम्र अनुरोध गर्दछु ।’

"