ओलीलाई सत्ताच्यूत गराउने मुडमा जसपा ! - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

ओलीलाई सत्ताच्यूत गराउने मुडमा जसपा !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट जस्तो देखिएको जनता समाजवादी पार्टीको एक पक्ष आइतबार एकाएक यूर्टन भएको छ । जसपाले प्रधानमन्त्री ओलीको विश्वासको मत सम्बन्धि प्रस्तावमा हुने मतदानमा आफ्ना सांसदहरुलाई ह्विप नलगाउने निर्णय गरेको छ ।

पार्टीका संघीय पदिषद अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा बसेको शीर्ष नेताहरुको बैठकले सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले लिन चाहेको विश्वासको मतको मतदानमा आफ्ना सांसदहरुलाई ह्विप जारी नगरी स्वतन्त्र छोड्ने निर्णय गरेको हो ।

वर्तमान सरकारलाई समर्थन दिने वा नदिने विषयमा जसपाभित्र दुई समूहबीच लामो समय संघर्ष चलेपनि आइबार बसेको शीर्ष नेताको बैठकले पक्ष र विपक्षमा मतदानको अधिकार सांसदलाई नै दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा रहेका महन्थ ठाकुर र राजेन्द्र महतोले समेत आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर मत नदिने स्पष्ट पारिसकेका छन् । यस्तै, आइतबार बिहान जसपाका नेताद्धय ठाकुर र महतोले विपक्षी दलका नेता शेरवहादुर देउवासंग पनि छलफल गरेका थिए ।

कुनै पनि हालतमा पार्टीलाई प्रधानमन्त्री ओलीका पक्षमा उभिन नदिने यो निर्णयमा बाबुराम र उपेन्द्र सफल देखिए । यस्तै महन्थ र राजेन्द्रको ओली पक्षमा उभिने लामो प्रयास असफल भएको यो निर्णयले देखाएको छ । बैठकको निर्णयमा भने आफ्ना सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिइने भनिएको छ ।

कांग्रेस र माओवादी केन्द्र भने प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गराएर वैकल्पिक सरकार बनाउने प्रयासमा छन् । यो प्रयासमा उनीहरु निरन्तर छलफल पनि गरिरहेका छन् । कांग्रेस–माओवादीको यो प्रयासलाई बाबुराम र उपेन्द्रलेसमेत साथ दिने बताउँदै आइरहेका छन् ।

ठाकुर र महतोले आफुहरु तटस्थ बस्ने बताएपनि जसपाकै डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले भने प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने बताइसकेका छन् । प्रतिनिधिसभामा हाल जसपाका ३२ सांसद छन् ।

यता प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैंछन् । त्यो भन्दा अघि आइतबारको राजनीतिक घटनाक्रम हेर्दा उनी कठिन मोडमा पुगेको बुझ्न सकिन्छ । संसद्‍मा एमालेका १ सय २१ सांसद छन् । विश्वासको मत पाउन १ सय ३६ मत चाहिन्छ । त्यसकारण ओलीलाई अझै १५ सांसद अपुग हुन्छन् । नेपालपक्षका सांसदहरुले सामूहिक राजीनामा दिएभने ओली सरकारबाट बाहिरिन सक्छन् ।