सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण छैन् - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण छैन्


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् । आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण  सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह समेत गरेका छन् ।

‘राष्ट्रियताको प्रवर्द्धनका सवालमा सरकारले राम्रो काम गरेको छ, प्रश्न उठाउने कुनै ठाउँ छैन्’ सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सम्बोधन गर्दै उनले भने ।

यो सरकारलाई सबैखाले समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा विश्वास गर्नु नपर्ने कुनै कारण छैन्’ उनले भने,‘ सत्यलाई पछ्याउने हो भने यो सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन ।’

उनले संविधान संशोधनका लागि छलफल गर्न सकिने जनाउँदै सरकारले लिएका अडान र प्राप्त गरेका उपलब्धी आफैं बोलिरहेको पनि बताए । सरकारले सुशासनका पक्षमा समेत राम्रो काम गरेको उल्लेख गर्दै उनले सरकारले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सुन्न सकिने बनाइएको र हिंसामा लागेकालाई शान्तिपूर्ण बाटोमा ल्याएको दाबी समेत गरे ।

प्रधानमन्त्री ओलीले आफू तीन वर्षदेखि सदनकै बलमा उभिएको उल्लेख गर्दै भने, “तीन वर्षमा देशमा धेरै उपलब्धिहरु हासिल भएका छन्, हुन्न भन्ने पक्षमा कसरी मतदान गर्न सक्नुहुन्छ ? मेरो कसैप्रति आग्रह र पूर्वाग्रह छैन ।” प्रतिनिधिसभा पुनःस्थापनापछि पनि आफूलाई संसद्ले विश्वास गरेको स्मरण गर्दै उनले पार्टी अलग हुँदासमेत  विश्वासको मत फिर्ता नलिई बलियो समर्थन गरिएको बताए ।

“यति धेरै उपलब्धि हासिल गरेको सरकारलाई विश्वास नगर्नुपर्ने काम नै हुँदैन”, प्रधानमन्त्री ओलीले भने, “सुशासन, शान्ति सुव्यवस्था, राष्ट्रिय समस्याहरुको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छ, सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन र हुन पनि सक्दैन ।”
वर्तमान समया कोभिड–१९बाट नागरिकलाई बचाउनका लागि सरकार लागिरहेको समेत स्पष्ट पारे ।

“यो समय नागरिकलाई बचाउने समय हो, त्यस अभियानमा सबै जना लागौं”, प्रधानमन्त्री ओलीले आग्रह गर्दै भने, “कोभिड नियन्त्रणको अभियानमा हामी फेरि पनि लागौं, सरकार कसको आउला, कसको बन्ला त्यो अलग कुरा हो ।”

‘समृद्ध नेपालः सुखी नेपाली’ को आकांक्षा पूरा गर्न नेपालका सबै क्षेत्रको विकास र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार लागिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यसका लागि युवा स्वरोजगार र  महिला उत्थान कार्यक्रम बनाइएको उनले बताए । उनले सरकार सडक बालबालिकामुक्त देश बनाउने बनाउने अभियानमा लागिरहेको र स्वास्थ्य बीमा कार्यक्रममा धेरै जनसंख्यालाई सहभागी गराउने दूरगामी कामसमेत गर्दै आएको स्पष्ट पारे ।

“शारीरिक अशक्त व्यक्तिलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याएका छौं”, प्रधानमन्त्री ओलीले भने, “कोही छैन भनेर चिन्ता लिनु पर्दैन, सरकारले हेर्छ, सरकार अभिभावक हो, कोही अभिभावक छैन भने पनि सरकार छ ।”

भूकम्पपछिको पुनःनिर्माण गर्ने काममा तीव्रता दिइएको जनाउँदै उनले धरहरा, दरबार हाइस्कूल, वसन्तपुर दरबार, सिंहदरबारको पुनःनिर्माण, अस्पताल, पुरातात्त्विक महत्त्वका संरचनाको पुनःनिर्माण असाधारण तरिकाले भएको र मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा आएको सुनाए ।

“दैनिक छ किलोमिटर सडक बनी कालोपत्रे भएको छ, त्यसमा सरकारले निरन्तरता दिएको छ”, उनले थपे, “ धेरै विकासका अयोजना बन्दै गएको छ र १२ वटा नयाँ सिटी बन्दै छन् ।” उनले उद्योगलाई सुरक्षा र संरक्षण, व्यापार सन्तुलन, सामाजिक पूर्वाधार विकास, बालबालिका हित, उच्च शिक्षालाई अनुसन्धानको केन्द्र बनाउने र आधुनिक र प्रतिस्पर्धी शिक्षा बनाउन सरकारले ध्यान दिएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले औचित्यपूर्ण ढंगले संविधानमा संशोधन गर्न सकिने जनाउँदै भने, “संविधान औचित्य र आवश्यकताका आधारमा संशोधन हुन सक्छ, अब कसैले विखण्डन र विभाजनको राजनीति रोज्दैन, देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डताका विषयमा अब कुनै विवाद छैन ।”
     
राजनीतिक उद्देश्य प्राप्ति र माग तथा आकाङ्क्षा पूरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोचको अन्त्य भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले हिंसाको विचार मार्ग परित्याग गराएर शान्तिपूर्ण राजनीतिमा सरकारले ल्याएको र ती ऐतिहासिक र ठूलो उपलब्धि भएको बताए ।