दुई अस्पतालले ‘हात उठाए’: अक्सिजन छैन, उपचार गर्न असमर्थ छौं - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

दुई अस्पतालले ‘हात उठाए’: अक्सिजन छैन, उपचार गर्न असमर्थ छौं


काठमाडौं । सुविधा सम्पन्न र अत्याधुनिक प्रविधियुक्त अस्पतालको रुपमा प्रचार गरिरहेको ललितपुरको नेपाल मेडिसिटी अस्पतालले कोरोना संक्रमितका नयाँ विरामी भर्ना गर्न नसक्ने र उपचाररतलाई पनि अक्सिजन उपलब्ध गराउन नसकिने जनाएको छ ।

मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै अहिलेको विषम परिस्थितिका कारण अक्सिजन अभाव लगायतका कारणहरु देखाउँदै अस्पतालले कोभिड–१९ का जटिल अवस्थाका विरामी भर्ना गर्न असमर्थ रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्य समस्याका कारण कोभिड–१९ का जटिल अवस्थाका विरामीको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत विरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने निर्माण हुनसक्ने व्यहोरा सम्बन्धित निकायलाई प्रश्तुत गर्दछौं ।’

विज्ञप्तिमा उल्लेख भएअनुसार हाल उक्त अस्पतालमा एक सय जनाभन्दा बढी ननकोभिड र १ सय २० जना कोभिडका विरामीको उपचार भइरहेको र ४० जनाभन्दा बढी भेन्टिलेटरसहितको संघन उपचारमा कक्षमा रहेका छन् । दैनिक ४ सय ५० देखि ५ सय अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट एकसय वटा मात्र सिलिन्डर प्राप्त हुनेभएकाले कुनै हालतमा सहज रुपमा उपचार गर्न नसकिने अस्पतालका सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा.राज राणाले जनाएका छन् ।

त्यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिकास्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका कोरोना संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव भएको भन्दै डिस्चार्ज गर्ने भएको छ । मेडिकल प्रशासनले मंगलबार एक सूचना जारी गर्दै मंगलबार साँझ ४ बजेपछि अत्ति आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउन नसक्ने भन्ने संक्रमितहरुलाई डिस्चार्ज हुन भनेको छ ।

‘अक्सिजन सप्लाइ गर्ने सोपान फर्मासिउटिकल्स लिमिटेडको मेसिन बिग्रिएकाले तत्काल अक्सिजन उपलब्ध हुन सक्ने अवस्था न्यून रहेको जानकारी प्राप्त भएको र अन्यन्त्रबाट समेत अक्सिजन उपलब्ध हुन नसकेको हुँदा अस्पतालमा भएको अक्सिजनले आज मिति २०७८ बैशाख २८ गते साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले यसबाट विरामीको स्वास्थ्य अवस्थामा गम्भीर समस्या उत्पन्न हुनसक्ने देखिएको हुँदा सो अगावै आ–आफ्नो व्यवस्था गर्नहुन सम्बन्धित सबै विरामी पक्षलाई सूचित गरिन्छ’ भनिएको छ ।

अक्सिजन उपलब्ध हुन नसक्ने भएपछि नै विरामीको डिस्चार्ज गर्न लागिएको मेडिकल कलेजका प्रशासकीय अधिकृत ज्योति खड्काले बताए । उनले भने, ‘यो कुनै रमाइलोको लागि गरिएको निर्णय होइन, अवस्था नभएर नै हो,’ उनले अगाडि भने,‘सकेसम्म अक्सिजनको जोहो गर्ने प्रयास भने जारी राखेका छौं ।’ अस्पतालमा हाल ९० जना कोरोना संक्रमित विरामी भर्ना भएका छन् ।