अक्सिजन अभाव : अस्पतालहरुको ‘आत्मसर्मपण’ - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

अक्सिजन अभाव : अस्पतालहरुको ‘आत्मसर्मपण’


काठमाडौं । अस्पतालका बेडहरु कोरोना संक्रमितका विरामीले भरिन थालेसँगै अक्सिजन अभाव भएको जनाउदै नयाँ विरामी भर्ना नलिने अस्पतालहरुको संख्या थपिन थालेको छ ।

मंगलबार काठमाडौं उपत्यका भित्रका दुई ठूला अस्पतालले भर्ना लिन नसक्ने भनी सार्वजनिक सूचना जारी गरेको भोलीपल्ट बुधबार(आज) काठमाडौंको धापासीमा रहेको ग्रान्डी अस्पताले संक्रमितका नयाँ भर्ना लिन नसक्ने जनाएको छ ।

बुधबार एक सार्वजनिक सूचना नै जारी गर्दै ‘दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौं’ भन्दै नयाँ विरामी भर्ना गर्न नसकिने जनाएको छ । अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको हो ।

बुधबार मात्रै काठमाडौं गोकर्णेश्वर नगरपालिकास्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका कोरोना संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव भएको भन्दै डिस्चार्ज गर्ने सूचना जारी गरेको थियो । अक्सिजन उपलब्ध हुन नसक्ने भएपछि नै विरामीको डिस्चार्ज गर्न लागिएको मेडिकल कलेजका प्रशासकीय अधिकृत ज्योति खड्काले जनाएका थिए । उनले भने, ‘यो कुनै रमाइलोको लागि गरिएको निर्णय होइन, अवस्था नभएर नै हो,’ उनले अगाडि भने,‘सकेसम्म अक्सिजनको जोहो गर्ने प्रयास भने जारी राखेका छौं ।’ अस्पतालमा हाल ९० जना कोरोना संक्रमित विरामी भर्ना भएका छन् ।

त्यस्तै ललितपुरको नेपाल मेडिसिटी अस्पतालले पनि बुधबार नै सार्वजनिक सूचनामार्फत संक्रमितका नयाँ विरामी भर्ना गर्न नसक्ने र उपचाररतलाई पनि अक्सिजन उपलब्ध गराउन नसकिने जनाइसकेको छ । अस्पतालका सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा.राज राणाले दैनिक ४ सय ५० देखि ५ सय अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट एकसय वटा मात्र सिलिन्डर प्राप्त हुनेभएकाले कुनै हालतमा सहज रुपमा संक्रमितको उपचार गर्न नसकिने जनाएका हुन् । उक्त अस्पतालमा एक सय जनाभन्दा बढी ननकोभिड र १ सय २० जना कोभिडका विरामीको उपचार भइरहेको र ४० जनाभन्दा बढी भेन्टिलेटरसहितको संघन उपचारमा कक्षमा रहेका छन् ।

यसअघि अक्सिजनकै अभाव देखाउँदै नेपाल भारत मैत्री अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, मेडिकेयर अस्पताल लिमिटेड तथा दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरले संक्रमित भर्ना गर्न नसकिने जनाइसकेका छन् । ती अस्पतालहरूले अक्सिजन अभावका कारण कोरोना सङ्क्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तर दिन नसकिने परिस्थिति सिर्जना भएको उल्लेख गरेका छन्। अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्या मात्र सञ्चालन ल्याएर सेवा प्रदान ती अस्पतालले जनाएका छन्।

कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले काठमाडौंका विभिन्न अस्पतालहरुका लागि दैनिक चाहिने अक्सिजन सिलिण्डरको कोटा निर्धारण गरेपछि अस्पताल संचालकहरुले सरकारकै कारण अक्सिजन अभाव भएको बताउँदै आएका छन् ।