माधव-झलनाथ पक्षका सांसद नयाँ दल खोल्ने मुडमा ! - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

माधव-झलनाथ पक्षका सांसद नयाँ दल खोल्ने मुडमा !


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल खोल्ने कसरत अघि बढाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुका माग पूरा नगरेको भन्दै नेपाल पक्षले नयाँ दलको नाम, निर्वाचन चिन्ह, पदाधिकारी सूचि लगायतका कसरत अघि बढाएको बुझिएको छ ।

बामदेव गौतमलाई पनि समेटेर नयाँ दल बनाउने तयारी भएको जनाइएको छ । नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले ओलीको रणनीतिलाई टक्कर दिन नयाँ पार्टी गठनको गृहकार्य सुरु भएको जानकारी दिएकी छन् ।

शाक्यले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विस्थापित गरी नयाँ सरकार निर्माणमा समेत आफ्नो समुहको सहयोग हुने बताइन । नयाँ सरकार गठनलाई सहज बनाउन माधव नेपाल पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने सम्भावना बढेको पनि बताइएको छ । त्यसरी राजीनामा दिनेहरुलाई उपनिर्वाचनमा साझा उम्मेदवार बनाएर जिताउनु पर्ने शर्तसहित उनीहरुलाई राजीनामा गराउने बुझिएको छ ।

यता, नेपाली कांग्रेसले पनि नेपाल पक्षलाई पोल्टामा पार्ने कसरत गरिरहेको छ । कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीच छलफल भएको छ । छलफलमा नेपाल पक्षधर २८ जना सांसदले नै राजीनामा दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते राति ९ बजेसम्म संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छिन् ।