नेपाल पक्षका नेताहरुको प्रतिक्रिया: पार्टी एकताबद्ध बनाउने वातावरण बन्नसक्छ - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

नेपाल पक्षका नेताहरुको प्रतिक्रिया: पार्टी एकताबद्ध बनाउने वातावरण बन्नसक्छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहित उनी निकट चार नेतामाथिको कारवाही फुकुवा गरेसँगै नेपाल पक्षका नेताहरुले निर्णयलाई ‘सकरात्मक’ भनेका छन् ।

नेता गोकर्ण विष्टले गोकर्ण चार नेता माथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

युवा नेता योगेश भट्टराई पनि सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउँदै ओली पक्षको निर्णयलाई सकरात्मक भनेका छन् । ‘कारबाही गर्नु नै गल्ती थियो, गल्ती सच्याउने काम भएको छ’ नेता भट्टराईले भनेका छन् ।

नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भनेका छन् । उनले भने, ‘हिजो पनि ओलीको निर्णयलाई सरासर गलत भन्दै आएका हौं । तर आज आएर कारवाही फिर्ता लिने निर्णय सकारात्मक छ ।’

वालुवाटारमा विहीबार बसेको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेका हुन्। उनीहरुमाथि पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै ६ महिना निलम्बनसहित कारवाही गरिएको थियो।

यद्यपी, कारबाही फुकुवा गरे पनि पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षीय नेताहरुको माग यथावत छ । कारबाही फुकुवाले मात्रै समस्या समाधान नहुने भएकाले नयाँ गठन गरिएका कमिटी र खोसिएका जिम्मेवारी पुरानै अवस्थामा रहने ग्यारेन्टीको माग गरिएको नेता भीम रावलले बताएका छन् ।