प्रधानमन्त्रीमा ओली नै दोहोरिने निश्चित, ठाकुर र महतोले दिए बधाइ - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

प्रधानमन्त्रीमा ओली नै दोहोरिने निश्चित, ठाकुर र महतोले दिए बधाइ


काठमाडौं । संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठन गर्ने प्रयास गरेका विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको सम्भावना टरेको निष्कर्ष निकालेका छन् ।

बिहीबार अपरान्ह बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक र सोही समयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वैकल्पिक सरकार गठनको सम्भावना टरेको निष्कर्ष निकालेको हो । पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोलाई नयाँ सरकार गठनको लागि मनाउने प्रयास विफल भएको ब्रिफिङ गर्नुभएको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको सम्भावना टरेको जानकारी गराउनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए । नयाँ सरकार गठनको लागि कांग्रेस र माओवादी केन्द्रले जसपाको ठाकुर–महतो पक्षलाई मनाउने प्रयास गरेका थिए । तर, उक्त प्रयास असफल भएपछि नेकपा एमालेको माधव नेपाल पक्षले भूमिका खेल्ने अपेक्षा गरेका थिए ।

तर, दुवै विकल्प अन्त्य भएपछि बहुमतको सरकार गठनको सम्भावना सकिएको हो । बहुमतको सरकार गठनको सम्भावना सकिएपछि अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले पुनः केपी ओली नै प्रधानमन्त्रीमा नियुक्त हुने बाटो खुलेको छ ।

एमाले अध्यक्ष केपी ओली र माधव कुमार नेपालबीचको करिब पाँच घण्टा लामो वार्तापछि तत्कालका लागि नेपाल पक्षबाट हुन सक्ने सांसदहरूको राजीनामा टरेपछि ओली प्रधानमन्त्री बाटो थप निश्चित बनेको थियो । बैठकबाट बाहिरिँदै नेता नेपालले तत्कालका लागि राजीनामा टरेको बताए । ‘दुई चार दिनलाई राजीनामा टर्‍यो, अब कार्यदल बन्छ,’ भेटवार्ता सकिएपछि बाहिरिँदै गर्दा नेता नेपालले सञ्चारकर्मीहरूसँग भने ।

नेपालको यो आशयसँगै अव प्रधानमन्त्रीमा ओली नै दोहोरिने संकेत देखिएको थियो । वार्ताका क्रममा नेता नेपालले ओलीसँग २८ फागुनको निर्णय फिर्ता र पार्टी कमिटी २ जेठ २०७५ को स्थितिमा फर्काउन माग गरेका थिए । सो मागमा ओली सकारात्मक रहेको र सहमतिमा टुङ्गाउने जवाफ दिएका छन् ।

ओली र नेपालबीचको भेट फलदायी बनेपछि ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बधाई दिएका छन् । प्रधानमन्त्रीमा फेरि निर्वाचित हुन लागेकोमा ठाकुर र महतोले प्रधानमन्त्री निवास बालुवाटर पुगेर बधाई दिएका हुन् ।