द्वन्द्व पीडितलाई प्रधानमन्त्रीको ओलीको यस्तो आश्वासन - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

द्वन्द्व पीडितलाई प्रधानमन्त्रीको ओलीको यस्तो आश्वासन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्व पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताएका छन् ।

आफ्ना पीडा अवगत गराउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादल र सरकारका उच्च पदस्थ अधिकारीसहितको उक्त छलफलमा प्रधानमन्त्रीले भने, ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोग मार्फत द्वन्द्वका घाउहरुलाई क्रमशःपुर्दै लैजानु पर्छ ।’

छलफलमा ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभएपनि आशंका वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गरे ।

‘जता पट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला,उसका अभिभावक उसमा आश्रित् सन्तानको पीडाहरु उस्तै उस्तै छन्’, उनले भने ।

पेन्सन आदि केहीपनि नपाउने द्वन्द्व पीडितको परिवार अरु भन्दाबढी समस्यामा रहेकोपनि प्रधानमन्त्रीले बताए । द्वन्द्वरत कुनै पक्ष मै नभएका राजनीतिक कार्यकर्ता र सर्वसाधारण जनता पनि थुपै्र संख्यामा पीडित रहेको उनले बताए । ‘यि सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निश्कर्ष निकाल्नुपर्छ’, ओलीले भने ।

जुनसुकै तर्फबाट लडेको भएपनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्रीले बताए । ‘अब क्षमा गर र विर्स’ को भावबाट जानुपर्छ’ , प्रधानमन्त्रीको भनाई थियो । यद्यपी मैना सुनारको जस्तो जघन्य र गम्भिर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजायँ पाउने पनि प्रधानमन्त्रीले बताए ।

द्वन्द्वमा मृतकका परिवार वा घाइते बाहेक बहिर्गमित लडाकुकोसमेत अर्को खालको समस्या रहेको उनले उल्लेख गरे । ‘तीनचार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले सुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ । उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन’, प्रधानमन्त्रीको भनाई थियो ।

कार्यक्रममा द्वन्द्व पीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा कुल दुई हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको बताइन ।

ती सुरक्षाकर्मी आश्रित् परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उनले उल्लेख गरिन् । ‘ज्यान जोखिममा राखेर कर्तव्य पालनागर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहतदिन सकिएमाअहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुनेछ, उनको भनाई थियो । सरकारले मृतक सुरक्षाकर्मीलाई शहिद घोषणा गरे पनि आफूहरुले त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनि उनले बताइन् ।