शपथपछि ओलीको जवाफः सरकार बनाउन नसक्नेहरु हुन प्रतिगमनकारी - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

शपथपछि ओलीको जवाफः सरकार बनाउन नसक्नेहरु हुन प्रतिगमनकारी


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदबहालीपछि सञ्चारकर्मीहरुसँग उनले सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ? भन्दै रोष प्रकट गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘अस्थिरता चाहने तत्वले, मुलुकमा शान्ति देख्न नचाहने तत्वले लोकतान्त्रिक मूल्यमान्यता अनुसार संविधान र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थ सिद्धी गर्ने तत्वहरूले अहिले पनि देशमा प्रतिगमन भएको देख्छन् । आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अर्कोले सरकार बनाउनु प्रतिगमन यस्तो तथाकथित नक्कली क्रान्तिकारी ?’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्ष्य गर्दै उनले प्रतिगमन भइरहेको छ भनेर मुलुकमा अस्थिरता खडा गर्न खोजेको आरोप लगाए । पदबहाली गरेपछि मन्त्रीहरुलाई पहिलो निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्न निर्देशन पनि दिए ।

मुख्य समस्या नै कोरोना भएको भन्दै उनले भने, ‘अहिलेको मुख्य समस्या भनेको कोभिड १९ को नियन्त्रण हो। हामी यसलाई पराजित गर्छौं । त्यसका लागि सबै सामर्थ्य केन्द्रित गर्न जरुरी छ । यो काम सरकारले गर्नेछ ।’ कोरोनाको कारण उद्योग व्यापारमा समस्या नपरोस् भन्न सरकार सजग रहेको पनि उल्लेख गरे ।

ओलीले शुक्रबार दिउँसो नै पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ दिलाएकी थिइन ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् । यसअघि बिहीबार राति राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ।

बिहीबार राति ९ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न समय दिइएकामा निर्धारित समयमा कसैले पनि त्यस्तो दावी पेश गर्न नसकेपछि राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ।