राप्रपाको पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

राप्रपाको पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित


काठमाडौं । कोभिड महामारीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित भएको छ । शनिबार राप्रपाका तीन अध्यक्षसहित बसेको बैठकले कोभिड–१९ महामारीका कारण २०७८ जेठ २२ देखि २५ सम्म काठमाडौंमा गर्न लागिएको पार्टीको केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको केन्द्रीय सचिवालयले जनाएको छ ।

केन्द्रीय सचिवालयका प्रमुख ध्रुवबहादुर प्रधान र सचिव भास्कर भद्राद्वारा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्दै पाँच दिन भित्र पार्टीको निर्देशन समिति गठन गर्ने निर्णय गरेको जनाएका छन् ।

बैठकले कोभिड संक्रमणको दर उच्च बन्दै गइरहेकोको अवस्थामा नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संक्रमित बिरामीका लागि अस्पतालहरूमा शय्याको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेकोले निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन राप्रपाले माग गरेको छ ।

त्यस्तै राप्रपाले नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न माग गर्दै कोभिडसँग जुधिरहेका जनताको सेवामा सुरक्षित रहि परिचालिन हुन पार्टीको नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।