मदन-आश्रित घट्नाबारे सबै चुपचाप - रुपान्तरण
 २०८१ बैशाख ४, मंगलबार    

मदन-आश्रित घट्नाबारे सबै चुपचाप


काठमाडौं । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औं स्मृति दिवस मनाइँदैछ । यस अवसरमा नेकपा एमालेका नेताहरुले मदन-आश्रितको स्मरण गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । ओलीद्धारा जारी विज्ञप्तिमा दासढुंगा घट्नाको छानविनबारे कुनै प्रसंग उठाइएको छैन् ।

दिवसका अवसरमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल नेतृत्व गर्नुभएको स्मरण गरेका छन् । तर उनले पनि दासढुंगा घट्नाका रहस्य खोज्नुपर्ने विषयमा केही बताएका छैनन् । 

अर्का नेता माधवकुमार नेपालले भने मदन–आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर नआउनु रघटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले घटनालाई झनै रहस्यमय बनाएको पनि बताएका छन् । उनले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन् ।

एमालेका अर्का नेता बामदेव गौतमले मदन–आश्रितको बाटोमा हिंड्नु भनेको सहकार्यको दिशामा अग्रसर हुनु भएको बताएका छन् । नेता गौतमले आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको भन्दै चिन्ता व्यक्त गरेपनि दासढुंगा घट्नाको छानविन वा रहस्यको विषय कहीं कतै उल्लेख गरेका छैनन् ।

मदन–आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । दुर्घटना भएको लामो समयसम्म घट्नाको सत्यतत्य छानविन हुनुपर्ने माग उठिरहन्थ्यो । जब नेताहरु सत्ता र शक्तिमा पुगे छानविनको विषय विस्तारै ओझेल पर्न थालेको छ । स्मृति दिवसको अवसरमा सोमबार विहान एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको सालिकमा माल्यार्पण गरे ।

बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई  ‘मदन नगर’ नामकरण पनि गरे । ओली, गौतम, पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत नेताहरुले मुठ्ठी उठाएर मदन–आश्रितप्रति श्रद्धा ब्यक्त गरे तर घटनाको छानविनको विषयमा केही बोलेनन् ।

घट्ना भएको समयमा कांग्रेस सत्तामा थियो र एमाले नेताहरु सडकमा उत्रिएर घट्नाको छानविनको माग राख्थे । सडकमा नाराबाजी गर्थे । उनीहरुले आफूहरुको सरकार आएपछि यो घटनाका दोषीलाई कारबाही गर्ने बताउँथे । ०५१ सालमै एमाले सत्तामा गएको थियो । त्यसबेलादेखि अहिलेसम्म पनि यो घटना ज्यूँका त्युँ छ ।

मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी दुईपटक राष्ट्रपति भइसकेकी छिन् । भण्डारीको राजनीतिक विचार बोक्दै हत्यारालाई कारबाही गर्ने बताउँदै जनतालाई आश्वासनमा राख्दै आएका ओली तीन पटक प्रधानमन्त्री भइसकेका छन् । तर अब उनले पनि घट्नाको छानविन हुनुपर्छ भन्न छाडिसके  ।

त्यसबेला जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए ।तर लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।