डाक्टरले आफूखुशी बढाए परामर्श शुल्क - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

डाक्टरले आफूखुशी बढाए परामर्श शुल्क


काठमाडौं । चिकित्सकले बिरामी जाँच गरे बापत लिने परामर्श शुल्कमा आफूखुशी वृद्धि गरेका छन् । अधिकतम ३ सय ७० रुपैंयादेखि ८ सय २५ रुपैंयासम्म परामर्श शुल्क लिन पाउने गरि वृद्धि गरिएको छ ।

नेपाल चिकित्सक संघ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गरेका छन् । संघका अध्यक्ष डा. लोचन कार्की र अफिनका अध्यक्ष बसन्त चौधरीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानेर वृद्धि गरिएको जनाएका छन् ।

चिकित्सक संघ र अफिनको फागुन ४ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार शुल्क वृद्धि गरिएको हो । जनअनुसार, एमबीबीएस र बीडीएस गरेका चिकित्सकको ५ वर्ष भन्दा कम अनुभव भएकोले ३७० र ५ वर्ष भन्दा बढी अनुभव भएका चिकित्सकले ४५० शुल्क लिन पाउने निर्णय गरिएको छ ।

त्यस्तै एमडी, एमएस र एमडीएस गरेका चिकित्सकले ५ वर्षसम्मको अनुभविले ६६० र त्यसभन्दा बढी अनुभव भएका चिकित्सकले ७०० रुपैंया शुल्क लिने गरि वृद्धि गरिएको छ । डीएम/एमसीएच गरेका चिकित्सकले ७७० शुल्क लिने निर्णय गरिएको छ । डीएम/एमसीएच/एमडी/एमएस/एमडीएस गरी ५ वर्ष भन्दा बढी अनुभव भएका चिकित्सकले ८२५ रुपैंया शुल्क लिने निर्णय गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७१ असोज ११ गतेको निर्णय अनुसार लागू हुने गरि चिकित्सकको परामर्श शुल्क तोकेको थियो । प्रत्येक २ वर्षमा पुनरावलोकन हुने उल्लेख गरिए पनि समय सापेक्ष परामर्श शुल्क परिमाजर्न नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मेडिकल अफिसर (हाउस अफिसर)को पारिश्रमिक न्यूनतम ४२ हजार कायम गर्ने गराउने निर्णय गरिएको छ ।

"