नेपाल खिमलालकै पक्षमा - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

नेपाल खिमलालकै पक्षमा


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई नै भोट हाल्ने विषयमा छलफल नभएको बताएका छन् ।

नेपालले बादललाई चुनाव जिताउने प्रतिवद्धता जनाएको भनी आएका समाचारहरुको नेपालको सचिवालयले खण्डन गरेको छ । मंगलबार साँझ नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले जारी गरेको सूचनामा डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकाले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पारेका छन् ।
नेपालको जवाफपछि बादलले नै मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेको र मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति भएको जनाइएको छ । कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति नभएको र भ्रममा नपर्न सचिवालयले अनुरोध गरेको छ । नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने सचिवालयले जनाएको छ । बादल मंगलबार विहान नेपाललाई भेट्न कोटेश्वर गएका थिए ।

आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा। खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।
मोहन गौतम
पूर्व प्रधानमन्त्री मा। माधवकुमार नेपालको सचिवालय
२०७८ जेष्ठ ४ गते