प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपतिबाट नयाँ सरकार गठनको आव्हान ! - रुपान्तरण
 २०८१ माघ ९, बुधबार    

प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपतिबाट नयाँ सरकार गठनको आव्हान !


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न अव्हान गरेकी छन् । उनले सरकार गठन प्रक्रियाका मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि बाटो खोलिदिने बताएपछि राष्ट्रपतिबाट प्रक्रियाका लागि आव्हान भएको हो ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्री ओलीले उपधारा ४ अनुसार नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि उनले सो धारालाई उछिन्दै सिधै धारा ७६ (५) अनुसार अघि बढ्ने बताएका थिए ।

उपधारा ४ अनुसार अघि बढ्दा विश्वासको मत निल नसक्ने अवस्था देखेपछि ओलीले सो धारालाई उछिन्दै उपधारा ५ अनुसार अघि बढ्ने तयारी गरेका हुन् । सोही धारा अन्तर्गत बैकल्पिक सरकारका लागि राष्ट्रपतिबाट आव्हान भएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको जानकारी दिएका छन् ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ’ विज्ञप्तिमा लेखिएको छ ।

संविधानविद भिमार्जुन आचार्यले सामाजिक संजालमा लेखेका छन्, ‘विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आब्हान गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।’