नयाँ प्रधानमन्त्रीमा ओली र देउवाको दाबी, हस्ताक्षर किर्ते भएको आशंका - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

नयाँ प्रधानमन्त्रीमा ओली र देउवाको दाबी, हस्ताक्षर किर्ते भएको आशंका


काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा बहालवाला प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दावी पेश गरेका छन् ।

ओली र देउवा दुबै जनाले आफ्ना पक्षमा बहुमत सांसद रहेको जिकीर गरेका छन् । दुबै नेताले एमालेका माधव पक्ष र जसपाका सांसदहरुको समर्थन आफूलाई रहेको दावी गरेका छन् ।

ओलीले नेपाल पक्षका २७ सहितका १२१ र जसपाको ३२ सांसद गरी १५३ सांसदको समर्थन आफूलाई रहेकाले प्रधानमन्त्रीमा नियुक्त गर्न दावी गरेका छन् ।

उता, देउवाले पनि आफ्नो दल कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष र एमालेका नेपाल पक्षका १४९ सांसदको समर्थन रहेको दावी गर्दै शितलनिवासमा पत्र दर्ता गराएका छन् ।

शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफू दिक्क भएको भन्दै प्रधानमन्त्री नबन्ने घोषणा गरेका थिए । दुई मध्ये कसको दावी उचित हो भन्ने निर्णय गर्ने जिम्मा भने अब राष्ट्रपति भण्डारीको काँधमा आएको छ ।

प्रधानमन्त्री ओलीको इशारामा संवैधानिक दायित्व र कर्तव्य भुलेको आरोप बारम्बार खेप्दै आउनुभएका भण्डारीले लिने निर्णय कत्तिको न्यायिक हुनेछ भन्ने अब केहीबेरमै टुंगो लाग्नेछ ।
तर प्रधानमन्त्री ओलीले जसपाका ३२ र नेकपा एमालेका १२१ जना सांसद आफ्नो पक्षमा रहेको बताएपछि राष्ट्रपति कार्यालय नै अलमलमा परेको छ।

देउवाले दाबी गरे अनुसार माधव नेपाल समूहका ६ जना सांसदहरूले देउवालाई समर्थन नरहेको प्रचारबाजी गरिएको छ। जसमा योगेश भट्टराई, घनश्याम भुसाल, गणेश पहाडी, जयकुमार राई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टको नाम आएको भए पनि त्यस विषयमा उनीहरूले आधिकारिक रूपमा कुनै धारणा सार्वजनिक गरेका छैनन्। उनीहरूले माधव नेपालले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको प्रचारमा आएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन गर्न दिएको समयभित्रै पाँच बजेसम्म मात्रै हो। अबको केही समयमा प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया सुरु हुनेछ।