राष्ट्रपतिको निर्णयपछिको प्रतिक्रियाः प्रतिगमन दोहोरियो, डटेर प्रतिवाद गरौं - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

राष्ट्रपतिको निर्णयपछिको प्रतिक्रियाः प्रतिगमन दोहोरियो, डटेर प्रतिवाद गरौं


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणालाई प्रतिगमन भाग २ को संज्ञा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराती प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेपालले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

राष्ट्रपतिको कदमबारे शनिवार बिहान आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन् ।

उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

यता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले मिलेर गरेको ‘कू’ विरुद्ध एकजुट हुन आग्रह गरेका छन् । उनले सामाजिक संजालमा विद्या र केपी मिलेर गरेको कूविरुद्ध सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका हुन् । उनले कोरोना भाइरसको महामारीमा समेत अधर्म गर्न सक्ने देशघाती जोडी यहीं र यत्तिमै रोकिनेवाला छैनन् भन्दै यस्ताविरुद्ध सम्पूर्ण शक्तिका साथ लड्न आग्रह गरेका हुन् ।

कांग्रेसका नेता रमेश लेखकले मुलुक संविधान असफल बनाउने बाटो तिर अग्रसर भएको प्रतिक्रिया दिएका छन् । माग दाबी राष्टपतिबाट खारेज भएपछि लेखकले संविधान र विधि पद्धतिलाई स्वीकार गर्न नसक्ने राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान र लोकतन्त्र सुरक्षित हुन नसक्ने र खतरा बढेको बताए ।

‘संविधान नै असफल बनाउने खेल शुरु भएको छ, राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदको गरिमा, मर्यादा बिर्सिएर संविधान नै च्यात्ने काम भयो, लोकतन्त्र र संविधानलाई नै असफल बनाउने दिशामा अघि बढ्दै छ,’ उनले भने । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि चुनाव नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरे । यसको प्रतिवादमा उत्रिन आह्वान उनले गरेका हुन् ।