नागरिकता सम्बन्धी अध्यादेश जारी - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

नागरिकता सम्बन्धी अध्यादेश जारी


काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ आइतबार जारी गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेद्वारा जारी विज्ञप्तिमा ‘संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल नागरिकता (पहिलो संशोधन)अध्यादेश, २०७८ जारी गरिएको’ उल्लेख छ। हालको कानुनमा जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दलको मागअनुसार केही दिनअघि नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषद्द्धारा पारित गराएर जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभामा दुई वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ। सत्तारुढ दल भित्रकै विवादपछि यो विधेयक संसद्मा रोकिंदै आइरहेको थियो।

अध्यादेश जारी भएपछि २०७२ असोज ३ गतेभन्दा अगाडि जन्मका आधारमा नागरिकता लिएकाहरुको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता पाउनसक्ने भनिएको छ । नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन सकेको छैन भने वंशजको आधारमा नागरिकता पाउने तर यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम रहने छैन । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत गर्ने भनिएको छ ।