संसद विघटनविरुद्ध २५ रिट, विपक्षी गठबन्धनको बेग्लै तयारी - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

संसद विघटनविरुद्ध २५ रिट, विपक्षी गठबन्धनको बेग्लै तयारी


काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । आइतबार विघटनविरुद्ध सर्वोच्चमा २५ थान रिट पेश भएको छ ।

रिट दायरका लागि विपक्षी दलहरुले बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको जनाएका छन् । गठबन्धनले राष्ट्रपति समक्ष पेश गरेको बहुमत सांसदको हस्ताक्षरको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै रिट दायर गर्ने तयारी गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम पेश गरिएको बहुमत सांसदको हस्ताक्षरलाई बैधता दिएर अदालतबाट देउवालाई प्रधानमन्त्री घोषणा गरी सपथ ग्रहणको बाटो खुल्ला गर्नुपर्ने माग गर्दै रिट दायर गर्ने विपक्षी गठबन्धनले तयारी गरेका छन् ।

संविधानको उक्त धारा बमोजिम विपक्षी गठबन्धनका तर्फबाट बहुमत सांसदसहित प्रधानमन्त्रीमा दावी पेश गरेपनि राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन ।

यस्तै, सरकार गठनको विकल्प हुँदाहुँदै संसद विघटन गरेको भन्दै उक्त कदम खारेज गर्ने माग पनि विपक्षीले गर्दैछन् । रिट दायरको लागि विपक्षी गठबन्धनले आईतबार सांसदहरुको हस्ताक्षरसहित आवश्यक तयारी गरेका छन् ।

यसअघि शनिवार गठबन्धनले बहुमत सांसदको हस्ताक्षर संसद विघटन गर्ने गैरसंवैधानिक कदमबिरुद्ध कानुनी लडाई लड्ने निर्णय गरेको थियो । विपक्षी दलका नेताहरुले बहुमत सांसदको हस्ताक्षर जुटिसकेको दावी गरेका छन् ।

सर्वोच्च अदालतका सहरजिष्टार बाबुराम दाहालले आइतबार साढें तीन बजेसम्म प्रतिनिधि सभा विघटनकाबिरुद्धमा २५ थान रिट आएको तर दर्ता प्रक्रिया भने बाँकी रहेको जानकारी दिए । यसअघि गत पुष ५ गते गरिएको संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए ।