प्रतिनिधिसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तको माग - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

प्रतिनिधिसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तको माग


काठमाडौं । विपक्षी गठबन्धन आबद्ध १४६ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । विपक्षी पाँच दल आबद्ध सांसदहरु नागरिकतासहित सशरीर सर्वोच्च हाजिर भएर रिट दायर गरेका हुन् । रिटमा मुख्य दुई विषयलाई समावेश गरिएको छ ।

रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा बहुमत पुर्याएर माग दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा पुर्नस्थापनाको आदेश माग गरिएको छ । रिटमा संविधानधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीलाई समर्थन गरेका आधारमा सांसदहरूलाई कारबाही नगरियोस् भन्ने पनि माग गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको मिलिभगतमा वैकल्पिक सरकार निर्माणको प्रक्रियालाई अवरोध गराएर प्रतिनिधिसभा विघटन गरिएको गठबन्धनको ठहर छ । गठबन्धनले संविधानको धारा ७६ (५)को सरकार निर्माणका लागि आह्वान भएर प्रक्रियासम्मत ढंगबाट दाबी परिसकेपछि त्यसलाई राष्ट्रपतिले इन्कार गर्न नमिल्ने व्याख्या गरेको छ । संविधानको धारा ७६ (३) अन्तर्गत नियुक्त प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।