यमनबाट डा.केसीको विज्ञप्ति: ओलीलाई ‘हत्यारा’ र ‘माफिया संरक्षक’को आरोप - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

यमनबाट डा.केसीको विज्ञप्ति: ओलीलाई ‘हत्यारा’ र ‘माफिया संरक्षक’को आरोप


काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा गोविन्द केसीले ‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती अवैध सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

यमनको मरिबबाट प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको आरोप लगाउँदै सम्बन्ध दिए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।

साथै उहाँले प्रधानमन्त्री ओली संरक्षित मेडिकल ‘माफियाका नाइके’द्वारा आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की नागरिकमाथि हुने राज्य आतंकको नमुना जनाएका छन् ।

सोमबार बिहान प्रितम सुवेदीले आफूमाथि झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले भौतिक आक्रमणको चेतावनी दिएका थिए ।

डा.केसीद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दूरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो होइन ।’

उनले आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक प्रधानमन्त्री ओली भएको आरोप लगाएका छन् । आफ्ना आर्थिक र राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापा स्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रूपमा सम्बन्धन दिलाउन ओलीले अनेक हथकण्डा अपनाएको उनको भनाइ छ ।

चिकित्सा शिक्षा नियमावली २०७७ का अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने स्मरण गराउँदै डा.केसीले बी एण्ड सी मेडिकल कलेजले २०७३ सालयता आसयपत्र नवीकरण नगरेको दावी गरे । त्रिवि र केयु दुवैले यस अगाडि नै पाँचभन्दा बढी मेडिकल कलेजहरूलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐन अनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उनले स्मरण गराए ।

यस्तो अवस्थामा प्रधानमन्त्रीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको उनको भनाइ छ । प्रधानमन्त्रीले नै अवैध कार्य गराउने यस्तो कार्य विधिको शासनविरुद्धको अक्ष्यम्य अपराध भएको उहाँको ठहर छ ।

साथै उनले प्रधानमन्त्री ओलीलाई झापा घटनामा भएको ९ जनाको हत्याकाण्डको मुख्य योजनाकार भएको बताए । ओलीले उनी २०२८ साल देखि २०२९ साल सम्म झापाका ग्रामिण कृषक, समाजसेवी र सर्वसाधारण गरी नौ जना व्यक्तिको हत्यामा संलग्न भएको अदालतले समेत पुष्टि गरेको उनको भनाइ छ ।

 प्रेस विज्ञप्ती 
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको तथा उनी संरक्षित मेडिकल माफियाका नाइकेद्वारा हाम्रो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दूरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो होइन । आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि उनी नै हुन् । आफ्ना आर्थिक र राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापा स्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउन उनले अनेक हथकण्डा अपनाएका छन् ।
प्रधानमन्त्रीको संरक्षण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आसयपत्र नवीकरण गरेको छैन । जबकि चिकित्सा शिक्षा नियमावली २०७७ का अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुन्छ । त्यसैले अस्पताल सञ्चालन भए पनि शिक्षण संस्थाका रुपमा उक्त संस्थाको कानुनी अस्तित्व शुन्य छ । अर्कोतिर त्रिवि र केयु दुवैले यस अगाडि नै पाँचभन्दा बढी मेडिकल कलेजहरुलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐन अनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन सक्दैनन् ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेका छन् । प्रधानमन्त्रीले नै अवैध कार्य गराउने यस्तो कार्य विधिको शासनविरुद्धको अक्ष्यम्य अपराध हो । यही समयमा प्रधानमन्त्रीको संरक्षणमा रहेका स्वघोषित डन तथा उल्लिखित अवैध शिक्षण संस्थाका सञ्चालकले हाम्रो अभियानका एक सदस्यमाथि भौतिक आक्रमणको धम्की दिनु नागरिकमाथि हुने राज्य आतंकको नमुना हो । नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार नै कुण्ठित गर्ने ओली–संरक्षित अपराधीहरुको यस्तो कर्तुतविरुद्ध लड्नु हामी सबै नागरिकको कर्तव्य हो ।
केपी शर्मा ओलीको सक्कली चरित्र के हो भन्ने सम्बन्धमा समेत उनीसंग सम्बन्धित ऐतिहासिक सत्यतथ्यको सवैले जानकारी राख्नु पर्दछ । तब मात्र उनीबाट पटक पटक नेपाल देश र नेपाली जनता ठगिने क्रमको अन्त्य हुन सक्छ । उनी झापा हत्याकाण्डमा प्रत्यक्ष संलग्न मुख्य योजनाकार हुन् भन्ने कुरा विर्सदा हत्या गरिएका व्यक्तिको आत्मा, पीडित परिवारजन, मानवताका पक्षधर र मूलुकको न्याय प्रणालीको अनादर गरेको ठहर्छ । उनी २०२८ साल देखि २०२९ साल सम्म झापाका ग्रामिण कृषक, समाजसेवी र सर्वसाधारण गरी नौ जना व्यक्तिको हत्यामा संलग्न भएका व्यक्ति हुन् भन्ने कुरा सम्मानीत अदालतले न्यायिक रुपमा पुष्टी गरेको विषय हो । उनी धर्मप्रसाद ढकाल, ज्ञानप्रसाद ढकाल, बुटन चौधरी, विष्णुप्रसाद विमली, रुद्रकान्त राजवंशी, ईश्वरी चुडाल, दुर्गा खरेल, ज्ञान बहादुर बस्नेत, कर्ण बहादुर गौतमको हत्यामा संलग्न व्यक्ति हुन् । अदालतले समेत व्यक्ति हत्याको घट्नामा संलग्न भनी हत्यारा ठहर गरेको व्यक्तिलाई शासन सञ्चालनको जिम्मेवारीमा पुग्न दिनु हामी नेपाली जनताको पनि दुर्भाग्य हो भन्ने कुरा मनन गर्नु आवश्यक छ ।
यो अवस्थामा चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खाले अवैध निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न म चिकित्सा शिक्षा आयोगका सम्पूर्ण मर्यादित सदस्यहरुलाई अपिल गर्दछु । त्यसो नगरी ओलीको गुण्डाराजलाई साथ दिने जो कसैलाई पनि जवाफदेही बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौं । साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने नागरिकहरुको अधिकार रक्षार्थ आवाज उठाउन पनि सबै नागरिकहरुसामू अपिल गर्दछु ।
हाल म द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिइरहको छु । चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडान विपरीत अयोगको बैठक बोलाएर जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह शुरु गर्ने जानकारी गराउन चाहन्छु ।
डा गोविन्द केसी
मरिब, यमन
२०७८ जेठ १०
 
 
 
 

"