काठमाडौं उपत्यकामा अब खाद्यन्न पसलसमेत खोल्न नपाइने, निषेधाज्ञा लम्बियो - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

काठमाडौं उपत्यकामा अब खाद्यन्न पसलसमेत खोल्न नपाइने, निषेधाज्ञा लम्बियो


काठमाडौं । काठमाडौं उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको भर्चुअल बैठकले जारी निषेधाज्ञालाई एक हप्ता थप गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको हो । बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको हो । निषेधाज्ञामा किराना पसलसमेत खोल्न नपाइने भएको छ ।

यसअघि ३० बैशाखमा निषेधाज्ञा थप गर्दै दुई साता बढाइएको थियो भने त्यसअघि २२ वैशाखमा एक साता थप गरिएको थियो । पछिल्लो पटक थप भएको निषेधाज्ञा १३ जेठसम्म तोकिएको छ ।
गृह मन्त्रालयले निषेधाज्ञाको पालना गराउन र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ । गृह मन्त्रालयको विवरणअनुसार ७५ जिल्लामा पूर्ण तथा आशिंक निषेधाज्ञा लागू भएको छ ।

पछिल्लो पटक सरकारले कोभिड–१९ अध्यादेश ल्याएपछि प्रशासनले निषेधाज्ञाको कार्यान्वयनमा कडाइसमेत गरेको छ । अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तै अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजारसम्म जरिवाना लिन सकिने जिल्ला प्रसासन कार्यालय काठमाडौंद्धारा जारी सूचनामा उल्लेख छ ।

यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा उल्लेख छ भने हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ जरिवाना गराउन सकिने उल्लेख छ ।