गैरसरकारी संस्थाको एम्बुलेन्समा गाँजा - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

गैरसरकारी संस्थाको एम्बुलेन्समा गाँजा


धरान । कोरोना रोकथामका लागि निषेधाज्ञामा कडाई गरिने भनिएको बेला आकस्मिक उद्धारका साधनहरुको दुरुपयोग हुन थालेको पाइएको छ । विषम परिस्थितिको बेला गैरसरकारी संस्थाको एम्बुलेन्समा लागुऔषध गाँजा ओसारपसार भएको पाइएको हो ।

हुडेप नेपाल धनकुटाद्वारा संचालित को१च ५५५९ नम्बरको मारुती भ्यान एम्बुलेन्सलाई आइतवार राती एकसय केजी गाँजासहित धरानमा प्रहरीले पक्राउ गरेको हो । अधिकांश गैरसरकारी सामाजिक संस्थाले एम्बुलेन्स ठेक्कामा दिने गरेको छ । महामारीले आक्रान्त भएको बेला त्यस्ता उद्धारका साधनहरु दुरुपयोग हुने सम्भावना बढेको यस घट्नाले उदाहरण दिएको छ ।

इलाका प्रहरी कार्याले धरानले दिएको जानकारी अनुसार आइतवार विहान ४ बजे धरान वडा २ मा धनकुटाको भेडेटार बाट धरान आउँदै गरेको एम्बुलेन्स चेक जाँच गर्दा एकसय केजी गाँजा बरामद भएको हो । गाँजा एम्बुलेन्सको पछाडीको भागमा २५/२५ केजीको चार वटा झोलामा राखिएको इलाका प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएपछि एम्बुलेन्स चालक धरान–१५ का ३६ वर्षिय बल बहादुर लिम्बु र धनकुटा सहिदभुमी गाउँपालिका–१ घर भई हाल धरान–११ बस्ने २८ वर्षिय पोशन राईलाई पक्राउ गरिएको छ । उनिहरु लाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्यादथप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।