संक्रमण बढेपछि उद्धारका लागि गैरसरकारी आइसोलेशन - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

संक्रमण बढेपछि उद्धारका लागि गैरसरकारी आइसोलेशन


धरान । सुनसरीको इटहरी नगरक्षेत्रमा कोरोना संक्रमण नरोकिएपछि गम्भिर संक्रमितहरुको तत्काल उद्धार गर्न गैरसरकारी क्षेत्रको पहलमा ८० शैयाको अक्सिजन सहितको आइशोलेसन मंगलवारदेखि संचालन गरिएको छ । इटहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । संक्रमितको संख्या १५१५ नाघेको छ ।

इटहरी–१० पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा आइशोलेसन स्थापना गरिएको हो । उद्योग वाणिज्य संघको अगसरतामा श्वास–प्रश्वासमा समस्या देखिए तत्काल उद्धारका लागि शुरु गरिएको आइशोलेसनमा अक्सिजनको सुविधा छ । आइशोलेसन नेपाल प्रेस युनियन, युवा उद्यमी मञ्च, कृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समितिको सहकार्यमा स्थापन गरिएको हो ।

यसअघि इटहरी उपमहानगरपालिकाले रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ । कोरोनाको अघिल्लो लहरमा गतवर्ष सञ्चालन गरिएको १०० सय शैयाको आइशोलेसन लाई यसपाली ५० शैयामा सीमित गरिएको हो । नयाँ तीनतले भवनमा सञ्चालित आइशोलेसनमा डाक्टर र नर्ससहितको सुविधा छ । उद्योग बाणिज्य संघ अध्यक्ष भीम पौडेलले भने ‘अक्सीजनको सुविधा नपाउँदा संक्रमितहरु अकालमा मर्नुपर्ने अवस्थामा निजी क्षेत्रबाट संचालित आइशोशनले राहतदिने बिश्वास गरिएको छ ।’

कोरोना संक्रमण तिब्र भएकोले स्थिति नियन्त्रण बाहिर जान नदिन निजी क्षेत्रबाट आइशोलेसन तयार गरिएको मारवाडी सेवा समितिका अध्यक्ष मुकेश अग्रवालले बताए । आइशोलेसनमा संक्रमितलाई खाना र बस्न निःशुल्क छ । खेलकुदका सामाग्री, पुस्तकालय, वाइफाई र टेलिभजनको सुबिधा छ । एम्बुलेन्स सेवा निशुल्क छ । विराटनगरको नोबेल अस्पतालको सहकार्यमा ७५० रुपैयामा पिसिआर जाँच गरिने बताइएको छ । पत्रकारहरु संक्रमीत भए उनिहरु लाई यहाँ राखिने प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले बताए ।

इटहरी नगर प्रमुख व्दारिकलाल चौधरीले संक्षीप्त कार्यक्रमका विच आइशोलेसन विधिवत शुरु भएको घोषणा गरेका हुन् । उनले सुविधा जनक आइशोलेसन नहुँदा अधिकांश संक्रमीत होम आइशोलेसनमा बस्न बाध्य भएको बताउँदै नीजि क्षेत्रले दिने सुविधाबाट इटहरीबासीलई ठुलो राहत मिल्ने विश्वास व्यक्त गरे ।