उभौली पर्व सामुहिक रुपमा नमनाइने - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

उभौली पर्व सामुहिक रुपमा नमनाइने


धरान । आदिबासी किरात समुदायको उभौली पर्व यसपाली सामुहिक रुपमा सार्वजनिक कार्यक्रम गरी नमनाइने भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विषम परिस्थिति सिर्जना भई कडा निषेधाज्ञा लागु रहेकाले यसपालीको उभौली घर घरमा स्वास्थ्य मापदण्ड अपनाउँदै मनाउन किराँत समन्वय समितिले आव्हान गरेको हो ।

वैशाखे पूर्णिमाका दिन मनाइने उभौली पर्व यसपाली बुधवार परेको छ । आदिबासी किराँत समुदाय कृषि युगमा प्रवेश गरेको प्रागऐतिहासिक कालदेखि उभौली पर्व शुरु भएको मानिन्छ । नयाँ अन्नबाली लगाउन शुरुगर्दा प्रकृतिसंग मौसम अनुकुल होस अन्नबाली सप्रियोस भनि पूजा–अर्चना गरी उभौली पर्व मनाइने गरिन्छ ।

पूर्वका लिम्बु समुदायले यक्वा तङनाम, राईले उभौली साकेला, याक्खाले युच्याङ र सुनुवारले श्याँदर पर्वको रुपमा उभौली मनाउँछन् । पछिल्लो समय किरात संस्कृति भएका समुदाय थपिएका छन् । किराँत समन्वय समिति अनुसार उभौली पर्व मनाउने समुदायहरुमा थामी, सुरेल, जिरेल, हायु जातिको संस्कृति किरातनै भएको पहिचान भएको हो ।

समुदायका मानिसहरु भेला भई परम्परागत सामुहिक पूजा–अर्चना सहित सांस्कृतिक नृत्यहरु आयोजना गरेर उभौली मनाइने गरिदै आएको थियो । गएको वर्षपनि कोरोना महामारीकै कारण सामुहिक पर्व रोकिएको थियो । यसपाली अझ जोखिमपूर्ण दोश्रो कारोना संक्रमणको लहर चलेकाले जमघटबाट जोखिम बढ्ने भएकाले घर घरमै मनाउन आग्रह गरिएको हो ।

समन्वय समितिव्दारा जी विज्ञप्तीमा भनिएको छ ‘विश्व महामारी कोविड–१९ को कारण सार्वजनिक स्थलमा भेला भई भव्य रुपमा चाड बनाउन नसकिने परिस्थितिमा यस वर्ष पनि गतवर्षको जस्तै घरमै बसेर मनाउन अनुरोध गर्दछौं ।’ साथै घरमा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गरी कुल पुराहित उपयोग गर्न विज्ञप्ती मार्फत समुदायमा आग्रह गरिएको छ । विज्ञप्तीमा सबै जातिय संस्थाका केन्द्रिय अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
फायल तस्विरः हर्ष सुब्बा