‘एशियाकै उत्कृष्ट’ अस्पतालप्रति केन्द्र सरकार मौन, स्थानीय सरकारसँग गुहार - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

‘एशियाकै उत्कृष्ट’ अस्पतालप्रति केन्द्र सरकार मौन, स्थानीय सरकारसँग गुहार


धरान । संघीय सरकारले जिल्ला प्रशासन मार्फत निषेधाज्ञा जारीगर्नु बाहेक संक्रमितको उपचारका साथै दैनिक जीवनका आधारभूत आवश्यकताका बारेमा कुनै चिन्ता लिएको नदेखिएपछि स्थानिय राजनीतिक दलहरुले स्थानीय सरकारलाई प्रभावकारी कदम चाल्न गुहार मागेका छन् ।

कोरोनाको दोस्रो लहरबाट गम्भीर रुपमा प्रभावित धरानमा ‘एशियाकै उत्कृष्ट’ भनिएको अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । अस्पतालमा प्रदेश सरकारले छुट्टै कोभिड–१९ अस्पताल निर्माण गरिदिएको छ । तर कोरोना महामारीको बेला संक्रमित भर्ना नलिने परिपत्र समेत गरिएको पाइएको छ ।

देशभर अक्सिजनको हाहाकार भएको बेला वीपीको आफ्नै प्लान्ट विग्रिएको भन्दै अक्सिजन उत्पादननै ठप्प राख्ने काम समेत हुँदा सरकारको ध्यानाकर्षण नभएपछि राजनीतिक दलका स्थानिय नेतृत्वहरुले संयुक्त रुपमा मेयर तिलक राईलाई मंगलवार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

महामारीका बेला प्रतिष्ठानमा संक्रमितले स्वास्थ्य सेवा नपाएको भ्रष्टाचारका कारण व्यवस्थापन अस्तव्यस्त भएकोले त्यस्लाई नियन्त्रण गर्न स्थानिय सरकारले प्रभावकारी कदम चाल्न जरुरी भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

संघीय सरकारले जारी निषेधाज्ञाका विच कालोबजारी, दैनिक उपभोग्य बस्तुको बजार भाउ आकाशिएको छ । तर लकडाउन लाई कडाई गर्ने बाहेक प्रहरी प्रशासनले नियन्त्रण र व्यवस्थापन गर्न कुनै भूमिका खेलेको देखिन्न । नगरबासीले भोग्नु परेको दोहोरो मारप्रति स्थानिय सरकारनै गम्भिर हुनुपर्ने राजनीतिक दलहरुले माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमुक्ति, संघीय लोकतात्रिक, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत सहित आठ दलका स्थानिय नेतृत्वले मेयर राईलाई ध्यानाकर्षणपत्र बुझाउँदै स्थानिय सरकारको अधिकार अधिकतम रुपमा प्रयोग गर्न आग्रह गरे ।

मेयर राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको अस्तव्यस्तता, उपचारमा हुने लापरवाही बारे पटक पटक ध्यानाकर्षण गरिएपनि सुधार हुननसकेकोले संघीय सरकारकै ध्यानाकर्षण हुनपर्ने आवश्यकता बढेको बताए । उपमहानगरपालिका मेयर प्रतिष्ठानको पदेन सिनेट सदस्य हुन् । हालको सिनेटम उपमेयर समेत सदस्य छन् ।

प्रतिष्ठानका उपकुलपति लगायत माथिल्लो तहका पदाधिकारीहरु सम्पर्क नभएको बताउँदै तल्लो तहका कर्मचारीहरुसँग मात्र सम्पर्क भइरहेको मेयर राईले बताए । पछिल्लो समय अक्सिजन प्लान्ट विग्रियो भनिएका बेला उपमहानगरपालिकाले मर्मतका लागि पहल गरेको बताउँदै उनले भने ‘उपमहानगरपालिकाले प्रतिष्ठानसंग व्यवस्थापनको सुधारका लागि पहला गर्नेछ ।’

यसअघि प्रतिष्ठानको गैरजिम्मेवार कृयाकलापका विरुद्ध राजनीतिक दलहरुले अस्पताल परिसरमा धर्ना समेत दिएका थिए । त्यस बेला प्रतिष्ठानका पदाधिकारीहरुको छलफलमा उपकुलपति, अस्पताल निर्देशक र विभागीय प्रमुखहरुले ‘सबै ठिक छ’ भनेको तर सरोकाकारवालाहरुले त्यस्तो अनुभव नगरेको मेयर राईले स्मरण गराए ।

जिल्ला प्रशासनले जेठ ९ गते जारी गरेको सूचनामा निषेधाज्ञाको बेला ‘विकास निर्माणका कार्यहरु लाई सहजीकरण गर्दै जाने’ भनिएको छ । तर जनताले दैनिक भौग्नु परेको समस्या, कालोबजारी, मुल्य बृद्धिलाई नियन्त्रण गर्ने बारेमा केही उल्लेख छैन् ।

धरानको हकमा कालोबजारी, मुल्य वृद्धिप्रति स्थानिय सरकार गम्भिर रहेको मेयर राईको भनाई छ । नगर प्रहरी, कर्मचारीहरुले निरन्तर बजार अनुगमन गरिरहेको उनले दाबी गर्दे भने ‘उपमेयर ज्यूको नेतृत्वमा अनुगमन समिति क्रियाशिल रहेको जानकारी गराउँदछु ।’ लकडाउन अघि कृषि उपज बजार समिति, उद्योग बाणिज्य संघसँग सहकार्य गर्ने निर्णय भएअनसार अनुगमन भैरहेको हो ।

सागसब्जी र फलफुल अभाव हुन नदिने बताउँदै मेयर राईले भने ‘कहि कतै तरकारी, सागसब्जी र फलफुल अभाव भयो, मूल्यवृद्धि भयो भने तुरुन्तै एक्शन र आपूर्ति गर्ने व्यवस्था मिलाएका छौं ।’ यस्को लागि जेठ ८ देखि बिहान ४ देखि ६ बजे २ घण्टा कृषि बजार खुला हुन्छ । दैनिक मूल्यसूचि प्रकाशित गरिन्छ । खाद्यान्नको आपूर्ति उबासंघ लाई जिम्मा दिइएको छ ।