कोरोना बिरुद्धको अभियान चलाएर १९ लाख रकम अस्पताललाई - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

कोरोना बिरुद्धको अभियान चलाएर १९ लाख रकम अस्पताललाई


रुकुम पश्चिम । ‘एक थुकी सुकी, हजार थुकी नदी’ भनेझैं सबैको स–सानो सहयोगले ठुलो परिणाम निकाल्न सकिन्छ भन्ने उदाहरण रुकुममा हालै संचालन भएको एक अभियानबाट प्रष्ट हुन्छ । रुकुममा जन्मेर देश तथा बिदेशमा रहेका व्यक्तिहरुद्धारा संचालित कोरोना बिरुद्धको सहयोग अभियान अन्तर्गत संकलित रकमबाट बुधबार जिल्ला अस्पताल रुकुमलाई स्वास्थ्य सामाग्री तथा उपकरणहरु प्रदान गरिएको छ ।

स्वतस्फूर्त रुकुम सहयोग अभियान संचालन गरेर तीन दिनमै १८ लाख ९९ हजार जम्मा भएको र त्यसबाट संकलन भएको रकमबाट कोरोना भाइरसका बिरामीको उपचारमा प्रयोग हुने अति आवश्यक सामग्री तथा उपकरणहरु अस्पताललाई प्रदान गरिएको हो ।

रकम सहायता फाउन्डेशनको खातामा जम्मा गरिएको थियो । संकलित रकमबाट १८ लाख ४८ हजार ७ सय ३१ रुपैंयामा खरिद गरिएका अक्सिजन सिलिण्डर, जनेरेटर, अक्सिमिटर, एन्टीजेन किट लगायतका १० प्रकारका स्वास्थ्य सामग्रीहरु जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको र अन्य रकम ढुवानी र अक्सिजन रिफिलमा खर्च भएको बताइएको छ ।

हस्तान्तरण भएका सामाग्री तथा उपकरणहरुमा ४० लिटरका १० वटा हाइ फ्लो अक्सिजन सिलिण्डर, ३ सय पिस एन्टीजेन किट, २० किलोवाटको जेनेरेटर, बिरामीको रगतमा अक्सिजन लेबल, ब्लड प्रेसर, ज्वरो लगायत जाँचमा प्रयोग हुने ५ प्यारामिटरका ७ वटा पेसेन्ट मनिटर र आईसोलेसन वार्डमा रहेका बिरामीको अक्सिजन लेबल जाँच्न प्रयोग हुने ठूलो वायर र मोनिटर सहितका ३ वटा ह्याण्ड हेल्ड पल्स अक्सिमिटर रहेका छन् ।

अभियानका एक अभियान्ता जनक खड्काका अनुसार हाईफ्लो अक्सिजन दिनुपर्ने बिरामीहरुका लागि प्रयोग हुने नन व्रेथिङ फेस मास्क ५० पिस, सामान्य अक्सिजन दिनुपर्ने विरामीका लागि प्रयोग हुने १२ वटा नजल ट्युविङ, १ सय पिस पिपिई सेट, १ हजार पिस के.एन. नाइन्टी फाइभ मास्क र १ सय एमएलका दुई सय पिस सेनिटाइजर अस्पताललाई प्रदान गरिएको छ ।

अभियन्ता लक्ष्मण ओेलीले यस खालको परोपकारी अभियान निरन्तर जारी रहने बताए । उनले संकट, महामारी तथा विपद्को बेला जन्मभूमिको रक्षार्थ मिलेर लड्न जरुरी रहेको समेत उल्लेख गरे ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख बिष्णुवहादुर बुढाथोकी, विशेषज्ञ डा. केहलविक्रम जिसी र डा. राजकुमार भुजेललाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । सामान हस्तान्तरण गर्दै प्रमुख शर्माले जस्तो सुकै संकटका बेलामा पनि रुकुममेलीहरु जुट्न जानेको र त्यसको पछिल्लो उदाहरण यो सहयोग भएको बतताए ।

सहायता फाउण्डेसनले अगुवाई गरेको यस अभियानमा जनक खड्का, सिर्जना ओली, अर्जुन भण्डारी, लक्ष्मण ओली, लक्ष्मण केसी, नरविर खड्का लगायतले सक्रिय नेतृत्व गरेका थिए ।