युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड बजेट विनियोजन - रुपान्तरण
 २०८१ बैशाख ४, मंगलबार    

युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड बजेट विनियोजन


काठमाडौं । सरकारले खेल क्षेत्रलाई प्रोत्साहन गर्नेगरी बजेट सार्वजनिक गरेको छ । युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २ अर्ब ७४ करोड विनियोजन गरेको जानकारी दिए । चालू आर्थिक वर्षमा मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट छुट्याएको थियो  ।

झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्ष भित्र तयार पारिने गरि निर्माण प्रारम्भ गरिने पौडेलले जानकारी दिए । आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानीय तहमा खेल ग्रामको निर्माण गर्न रकम छुट्टयाइएको छ।

मोरङको बैजनाथपुर, काठमाडौंको मुलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगंज र कंचनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान सम्पन्न गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।

पोखरा रंगशाला निर्माण कार्य सम्पन्न गर्ने घोषणा पनि गरेको छ । धनगढी, विरेन्द्रनगर, नेपालगंज, विरगंज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडी बढाउने बजेटमा भनिएको छ ।

मनाङ, मुस्ताङ, सोलुखुम्बु, सिन्धुपाल्चोक र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था गरिएको छ । खेल विद्यालयको सम्भाव्यताबारे गर्ने र नेपालको अन्तर्राष्ट्रिय सहभागिता बढाउने र सम्भावना बोकेको खेललाई प्रोत्साहन गरिने पनि भएको छ ।

सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ ।