पढेलेखेका र भात होइन पिज्जा खानेहरुबाटै महिला हिंसा ! - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

पढेलेखेका र भात होइन पिज्जा खानेहरुबाटै महिला हिंसा !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकारमार्फत समानताको लय समाउने कुरामा नेपाल विश्वमै उदाहरणीय देश भएको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राखेका हुन् ।
‘राणा कालको अन्धकार अवस्थाबाट निस्किनासाथ २००८ सालको नगरपालिका निर्वाचन मै महिलाले मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार पाए’ उनले भने ।नेपालले यसरी चुन्ने र चुनिने अधिकार महिलालाई दिँदा कतिपय विकसित मुलुकहरुमा नै महिलाको मताधिकार कुरा मात्रै पनि बहसमै सिमित रहेको समेत उनले उल्लेख गरे ।

विश्वको वामपन्थी आन्दोलनले महिला समानतालाई सुव्यवस्थित र संगठित रुपमा उठाएको चर्चा गर्दै आइएलओ अभिसन्धी तथा संयुक्त राष्ट्रसंघका बडापत्रमा उल्लेखित महिला अधिकारका पक्ष सोही आन्दोलनको देन भएको पनि उनले बताए ।

देशमा राजनीतिक आन्दोलनको विकाससँग सामाजिक न्याय र समानताको आन्दोलनपछि सँगै उठेको पनि प्रधानमन्त्रीले बताए । २०४६ सालको जनआन्दोलनले ल्याएको परिवर्तनको आलोकमा पहिले पाँच प्रतिशत, त्यसपछि २० प्रतिशत हुँदै अहिले ४१ प्रतिशतसम्म महिला निर्वाचित भएको पनि उनले बताए ।

सम्बोधनका क्रममा प्रंधानमन्त्रीले वर्तमान सरकार महिलामाथि हुने हरेक हिंसाविरूद्ध दृढता कार्य गरिरहेको र महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने समेत बताए । अन्धविश्वास, अज्ञानता वा अन्य कुनै कारणबाट महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गालीबेइज्जती, कूप्रथा र कूचलनविरूद्धको संघर्षलाई जारी राख्नुपर्ने भनाई उनको थियो ।

महिला अपमानलाई बहादुरी ठान्ने प्रवृत्ति अनपढमा मात्र होइन पढेलेखेकैहरुमा समेत देखिनु समाजका लागि हानिकारक रहेको उनले बताए । ‘आफु पढेलेखेको हुँ भन्ने, भात होइन पिज्जा खानेहरुबाट यस्ता काम भइरहेका छन्, उनको भनाई थियो

‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी, स्वार्थ, अहंकार र पछौटेपन जे भए पनि त्यो अस्वीकार्य मात्र होइन क्षम्यसमेत हुन सक्दैन,’ प्रधानमन्त्रीको भनाइ थियो । सरकारले बलात्कार र एसिड आक्रमणका विरूद्ध कडा कानुन निर्माण गरेर महिला हिंसा विरुद्ध कार्य गरिरहेको पनि उनले उल्लेख गरे ।

महिला हिंसाका कतिपय घटनामा महिलानै संलग्न देखिनु दुखद पक्ष रहेको बताउँदै प्रधानमन्त्रीले आफ्ना कारण अर्को महिलामाथि हिंसा नहोस् भन्ने तर्फ ध्यान दिनुपर्ने समेत बताए । साथै उनले महिलाको अधिकार प्राप्तिको संघर्षलाई पुरुषहरुले समेत सघाउनुपर्ने विचार समेत राखे ।