‘सुकेटार विमानस्थल लोकोक्ति बनिसकेको छ, नाम बदल्न हुन्न’ - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

‘सुकेटार विमानस्थल लोकोक्ति बनिसकेको छ, नाम बदल्न हुन्न’


धरान । ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई नयाँ नामाकरण गर्ने सरकारी प्रस्तावको व्यापक विरोध भएको छ । पूर्वको नेपाली समाजमा लोकोक्ति सम्म बनिसकेको विमानस्थलको नाम बदल्न नहुने उनीहरुको माग छ । ताप्लेजुङको इतिहासमा यसको किम्बदन्ती रोचक छ । सुकेटार विमानस्थलले स्थानीय सांस्कृतिक लोकभाका समेत प्रचलनमा भएकाले मौलिकतालाई बचाउन नाम बदल्न नहुने उनीहरुले माग गरेका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यमा सुकेटार विमानस्थललाई ‘स्व.रविन्द्र अधिकारी विमानस्थल’ नामकरण गर्ने प्रस्ताव गरेका छन् । विमानस्थलको धावनमार्ग विस्तार गर्ने योजना अघि सार्दै उनले नयाँ नामाकरण गर्ने प्रस्ताव गरेका हुन । संसद विघटन भएको अवस्थामा नाम बदल्ने प्रस्तावमा संसदीय छलफल हुने सम्भावना नभएपछि सामाजिक सञ्जालमा प्रस्तावको विरोध भैरहेको छ ।

मन्त्री पौडेलले बजेट सार्वजनिक गरे लगत्तै ताप्लेजुङबाट संसदमा प्रतिनिभित्व गरेका निवर्तमान पर्यटन मन्त्री योगेश भट्टराईले सुकेटार विमानस्थलको नाम बदल्ने प्रस्तावको विरोध गरेका छन् । उनले सामाजिक संजलामा लेखेका छन् ‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ ।’

यसरीमात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्ने उल्लेख गर्दै भट्टराईले असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा बिबाद, बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्ने बताएका छन् ।

ताप्लेजुङ पुख्र्यौली थलो भएका प्राध्यापक डा.रमेश इजमले भने ‘सुकेटार विमानस्थल ताप्लेजुङ इतिहास संस्कृतिसंग जोडिएको नाम हो, यस्लाई बदल्नु भनेको इतिहास समाप्त गर्नु हो ।’ उनले बाल्यकालमा नै सुकेटार विमानस्थललाई त्यस बेलाका युवाहरुले लोक भाकामा हालेर गीत गाउने गरेको बताए । उनले सामाजिक सञ्जालमा उक्त लोकभाका साझा गर्ने लेखेका छ ’हवाइ जहाज गिरान, घर सोध्दै आउनुनि लै लै, सुकेटार सिरान ।’ आफैले पनि युवा अवस्थामा गाउँदै हिडेको लोकभाका सम्झनामा ताजे रहेको बताउँदै उनले भने ‘अतिनै भो, स्थानीय नेपाली संस्कृति समाप्त गर्ने काम रोकिएन ।’

धरानका सामाजिक अभियन्ता मणिसुन्दर खत्रीले नाम बदल्ने कुराप्रति असन्तुष्टि जनाउँदै नेपाली भाषाका विद्धान प्राध्यापक डा.न्यौपानेले रचेका सुकेटार विमानस्थल तथा ताप्लेजुङका स्थानहरु वर्णन गरिएको पुराने कबिता सामाजिक सञ्जालमा साझा गरेका छन् । कविताको लोकभाकामा भनिएको छ ‘जहाज बसो सुकेटार गिरानमा, घर त मेरो ताप्लेजुङ सिरानमा । धुलो माटो यही गाउँमा खेलियो, दःख कष्ट कति हुन झेलियो । हेवा मावा तर्दै आउनु है, भेटघाट फुङलिनमा गरौला ।’

भाषिक इतिहासका अनुसन्धाता प्राज्ञ अमर तुम्याङ सुकेटार विमानस्थलको नयाँ नामाकरणको विषयमा निकै आक्रोशित छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थल रविन्द्र अधिकारीको नाममा नामकरण गर्नुपर्ने हो । ताप्लेजुङको विमानस्थलको नामकरण किन ? पहिला हेलिकप्टर दुर्घटनामा मन्त्री गोपाल राई, डा.हर्क गुरुङ लगायतको मृत्यु भएको थियो, ताप्लेजुङ घुन्सामा । उहाँहरुको नाममा त सुकेटार विमानस्थल नामकरण भएको थिएन ।’

सुकेटार विमानस्थलको निर्माणमा योगदान पुर्‍याएका दाताहरु सम्झदै उनले भनेका छन् ‘त्यो एयरपोर्ट बनाउनलाई भूपू मन्त्री विष्णु मादेन र उनका वंशबन्धूले त्यो जग्गा दिएका हुन् । नामकरण गर्ने भए उनको नाममा गर । भूपूमन्त्री चन्द्रप्रसाद पालुङवा हवाइजहाज दुर्घटनामा नै वितेका थिए । एयरपोर्टको नामकरण गर्नेभए उनको नाममा गर । अहिले स्वर्गीय रविन्द्र अधिकारी कै नाममा यस विमानस्थलको नामकरण किन ? हामीलाई स्वीकार्य छैन ।’

भाषा संस्कृतिका अर्का खोजकर्ता हितराम तिलिङले प्राज्ञ तुम्याङकै जस्तो भनेका छन् ‘नाम फेर्ने नै हो भने, जग्गादाता ‘स्व. बिस्नु मादेन स्मृति बिमानस्थल’ घोषणा गर ।’ भनेका छन् । झापाका सामाजिक कार्यकर्ता फिपराज बेघाले नामाकरणको प्रस्तावले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा दिवंगत भएकाहरु विचनै विभेद गरेकोमा प्रश्न गरेका छन् ।

२०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुदा तत्कालिन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालिन सचिव डा. दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल सहित २४ जनाको निधन भएको थियो ।

१५ फागुन २०७५ मा ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा तात्कालिक पर्यटन मन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रवु भोछिभोया, उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

उक्त दुई दुर्घटनामा बहालवाला माननीय मन्त्रीहरुको दुःखद निधन हुदा राई वा अन्य मृतकको नाममा बिमानस्थलको नाम राख्नु नहुने ? मात्र अधिकारी को नाममा विमानस्थलको नाम राख्नुपर्ने ? कि कुनै स्थलको नाम राख्नलाई फलानो समुदायको मानिस हुनुपर्ने हो ? दुर्घटनामा विभेद नगर सरकार ! सक्छौं भने स्थानीय नामहरुलाई प्रवर्द्धन गर, वेघाले भनेका छन् ।

प्रेस काउन्सिलको पूर्व अध्यक्ष भवानी बरालले पनि नाम फेर्ने प्रस्तावको विरोध गरेका छन् । उनले लेखेका छन् ‘सबै भ्रष्टाचारीका नाममा नेपालको बिमानस्थलका नाम राख्ने हो भने भ्रष्टाचार पनि बिमानकै गतिमा दौडने होला नी ?’ सांस्कृतिक अभियन्ता नरप्रसाद लुङफुङवा तत्कालिन मन्त्री विष्णु मादेनले आफ्नै जग्गा दिएर सुकेटार विमानस्थल ताप्लेजुङमा ल्याएको स्मरण गराउँदै लेखेका छन् । ‘नामै राख्नै परे बिष्णु मादेन विमानस्थल राखे स्विकार्य हुन्थ्यो । तर ताप्लेजुङ्सँग मुक्कुम्लुङमा हेलि दुर्घटना भएर मर्नु बाहेक कुनै साइनो नभएको रवीन्द्र अधिकारी विमानस्थल स्विकार्य छैन । आ–आफ्नो क्षेत्रबाट डटेर विरोध गरौं ।’

विकी पेडिया २०२० को अपडेट अनुसार ४७ वर्षअघि ताप्लेजुङको सुकेटारबाट सन् १९७६ देखि पहिलो पटक सानो हवाई जहाज उड्न थालेको हो । विमानस्थलको रनवे सन् २०१६ मा पिच गरिएको थियो । समुद्र सतह भन्दा २ हजार ४१९ मिटर अर्थात ७ हजार ९३६ फिटको उचाइमा रहको विमानस्थल ३ हजार ६०० वर्गमिटरमा अटाएको छ । रनवेको लम्बाई ७ मिटर लामो छ । यसैको विस्तारको लागि यसपाली बजेट विनियोजन गरिएको हो ।
सुकेटार विमानस्थलको विहंगम दृष्य । सुकेटारमा उडान शुरु हुँदा । तस्विरः गुगल