साधारण सदस्यबाट निकालिएका नेपाल पक्षसँग एकताकै पक्षमा ओली ! - रुपान्तरण
 २०८१ जेठ ३, बिहीबार    

साधारण सदस्यबाट निकालिएका नेपाल पक्षसँग एकताकै पक्षमा ओली !


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको मंगलबार बसेका बैठकले पार्टी एकता बचाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्यहरुले आन्तरिक एकताको प्रयासलाई अन्तिमसम्म जारी राख्न नेतृत्व तहका नेतालाई सुझाएका थिए । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले एकताको प्रयास जारी राख्न सबैबाट सुझाव आएको जानकारी दिए

विभाजनको संघारमा रहेको पार्टीलाई एक बनाउन केही दिन यता दुवै पक्षका दोस्रो तहका नेता सक्रिय छन् । प्रवक्ता ज्ञवालीले दुबै पक्षका नेताहरु सम्मिलित कार्यदलको अस्तित्व सकिएपनि एकता प्रयास जारी राख्ने निर्णय भएको बताए । ‘कार्यदलमा रहेका नेताहरु कारवाहीमा पर्नुभएको छ, एकताका लागि कार्यदल पुनःगठन गर्ने विषयमा पनि छलफल भएको छ’ उनले भने । हालै सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा अन्तर्घातका कारण पार्टीका आधिकारिक उम्मेदवार पराजित बनेको पनि बैठकको निष्कर्ष छ ।

यसअघि पार्टीले स्पष्टीकरण सोधेका १२ जनाका बारेमा केही निर्णय भएको छैन । ‘धेरैभन्दा धेरै साथीहरु पार्टीको मूल नेतृत्वमा अडियून् भन्ने हाम्रो प्रयास जारी छ’, ज्ञवालीले भने, आफ्नो पार्टीका नेतालाई हटाएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा केही साथीहरु लागिरहनुभएको छ तर ती साथीहरु पार्टीमा फर्कनुभयो भने राम्रै हुन्छ ।’ साधारण सदस्यबाट समेत निकालिएका नेपाल पक्षका नेताहरुसँग एकताको प्रयास जारी राख्ने निर्णयलाई कतिपयले हाँसोको विषय भएको बताएका छन् ।

बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने खालका दवाव र गतिविधि गम्भीर छलफल भएको छ । ‘आफूले भनेकै न्यायधीश र आफूले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढङ्गले दवाव दिनु स्वतन्त्र न्यायपालिकाको मर्मसंग मेल खाँदैन’ उनले भने, ‘त्यस्तो कुरा गर्नुहुँदैन र हुनुहुँदैन भन्ने हाम्रो निष्कर्ष रहेको छ ।'

बैठकले यही जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ प्रस्तुत गरेको बजेटले अहिलेका आवश्यकता पूर्ति गर्ने जनाउँदै त्यो जनताको आवश्यकता र चाहनानुसारको भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताए । बैठकले कोभिड–१९ विरुद्ध सरकारले गरेका पछिल्ला प्रयासको परिमाण निस्कन थालेको पनि निष्कर्ष निकालेको छ ।