प्रतिनिधि सभा विघटन : फागुन १५ गतेसम्म अन्तिम फैसला - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

प्रतिनिधि सभा विघटन : फागुन १५ गतेसम्म अन्तिम फैसला


काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फागुन १२ देखि १५ गतेभित्र फैसला गर्नसक्ने अनुमान गरिएको छ ।

शुक्रवार एमिकस क्युरीका सदस्यहरुले रायसहितको बहस सकेपछि संवैधानिक इजलासका प्रमुख प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बहस नोट पेश गर्न भनिसकेकाले अब अन्तिम फैसलाको तयारी सुरु भएको अदालत स्रोतले जनायो ।

बहस नोट दिन रिटका पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई प्रमुख प्रधानन्यायाधीशले आग्रह गरेका हुन्

नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले पनि सर्वोच्च अदालतमा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने बताए ।

शनिबार ओली पक्षले विराटनगरमा आयोजना गरेको आमसभामा मन्तब्य राख्नेक्रममा नेम्वाङले फागुनको १५ गतेभित्र अन्तिम फैसला आउने र संसद पुनर्स्थापना नहुने संकेत गरे ।

इजलासमा निवेदक पक्षबाट निर्णय सुनाउने मितिको चासो व्यक्त भएपछि प्रधानन्यायाधीश राणाले पनि फागुन ११ गतेपछि फैसला आउनसक्ने संकेत गरेका थिए । राणाले भने, ‘फागुन १० गतेसम्म बहस नोटको समय, त्यसपछि हेर्दाहेर्दैमा । फागुन ११ गते हेर्दाहेर्दै सकियो भने त्यही दिन हुन सक्छ वा १२ गते पनि हुन सक्छ । हेर्दाहेर्दै सकिएपछि निर्णय हुन्छ ।’

पुस ५ गते प्रतिनिधि सभा विघटन भएसँगै १३ वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए । रिटमाथि करिब दुई महिनादेखि निरन्तर सुनुवाइ भइरहेको हो । 

"