विवेकशील नेपाली दलका संस्थापक उज्वल थापा रहेनन् - रुपान्तरण
 २०८१ जेठ ३, बिहीबार    

विवेकशील नेपाली दलका संस्थापक उज्वल थापा रहेनन्


काठमाडौं । कोरोना संक्रमण भइ उपचाररत विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा ४४ बर्षीय थापाको निधन भएको परिवार स्रोतले जनाएको छ ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार निधन भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जेठ १७ गते उनको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य अवस्थामा परिवर्तन आउन नसकेको हो ।

अस्पतालका प्रवक्ता तथा मेडिकल सुपरिटेन्ड डा.राज राणा र मुटु शल्य चिकित्सक डा.विजय राजबंशीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उनको मृत्यु पुष्टि गरेको हो ।  अस्पतालमा एक्मो (इसीएमओ) प्रविधिबाट सोही अस्पतालका विशेषज्ञहरु, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उनको उपचारामा अन्तिम प्रयास गरिएको थियो ।

२०३३ साल पुस २३ गते बुवा उदयबहादुर थापा र आमा शान्ता रायमाझी थापाको कोखबाट जन्मिएका उज्वलले बुढानिलकण्ठ स्कूलबाट माध्यमिक शिक्षा हासिल गरेका थिए । क्याम्ब्रिज विश्वविद्यालयमा ए–लेभल गरेका उनले पछि खगोल र भौतिक विज्ञान विषयमा स्नातक पनि गरेका थिए । सन् १९९६ मा अध्ययनका लागि अमेरिका २००१ मा नेपाल फर्किएका थिए ।

बौद्धिक वर्ग र युवायुवतीलाई आकर्षित गरेका उज्वलले हरेक आन्दोलनमा ढुंगामुढा होइन शान्तिपूर्ण तरिकाले, छातीमा प्लेकार्ड टाँसेर र सडक छेउमा उभिएर गर्नुपर्छ भन्ने सिकाएका थिए । अमेरिकामा मल्टिमिडियाबारे पनि अध्ययन गरेका उनले नेपालमा आएर मल्टीमिडिया कम्पनी नै सञ्चालनमा ल्याएर सयौं युवालाई आफूसँग जोडेका थिए ।

२०६८ सालदेखि नै नेपाल खुल्ला छ अभियान चलाएका उनले नेपाल कहिल्यै बन्द छैन भनेर प्रचार गर्ने गर्थे । पहिलो संविधान सभा असफल भएपछि उनले ‘ज्याला पूरा लियौ, अब संविधान देऊ ’भन्ने नारा घन्काएका थिए । वैकल्पिक शक्ति बनाउन भन्दै थापाले विवेकशील नेपाली दल संविधान सभाको दोस्रो निर्वाचनलगत्तै २०७१ मा निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

दोस्रो संविधान सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा कुकुर चुनाव चिह्न लिएर काठमाडौं–५ बाट चुनाव लडेका थिए । पछि उज्वलको नेतृत्वमा रहको विवेकशील नेपाली दल र रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबीच एकता भएको थियो ।