रुकुम पश्चिम । राष्ट्रिय रुपमा कोरोना परीक्षणको दायरा कम भएको बेला रुकुम पश्चिमको एक स्थानीय तहले गाउँ गाउँमा पुगेर कोरोना परीक्षण गर्ने अभियान संचालन गरेको छ । जिल्लाको सानिभेरी गाउँपालिकाले मंगलबारदेखि गाउँ गाउँमा गएर कोरोना भाइरस परीक्षण गर्ने अभियान सुरु गरेको हो ।
यसअघि गाउँपालिकामा एन्टिजिन किट अभाव भएकाले गाउँमा लक्षण सहितका विरामी भएपनि परीक्षण हुन सकिरहेको थिएन । गाउँपालिकाले चार सय किट खरिद गरेको र थप किट पनि उपलब्ध हुने भएपछि गाउँ गाउँमै पुगेर कोरोना परिक्षण गर्ने अभियान सुरुवात गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए । उनका अनुसार शंकास्पद सबैको कोरोना परीक्षण गरिनेछ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले बिभिन्न वडाहरुमा कोरोनाको मिल्दोजुल्दो लक्षण भएका विरामी धेरै भएको र परिक्षण नगरिएको गुनासो नागरिकबाट आएपछी गाउँमै पुगेर कोरोना परिक्षण गर्ने अभियान संचालन गरिएको जनाए ।
उनका अनुसार अभियानको पहिलो दिन आज मात्रै गाउँपालिकाको वडा नम्वर १० र ११ मा ३९ जनामा गरिएको परीक्षणमा ११ जना व्यक्तीहरुमा पोजेटिभ देखिको छ । संक्रमित सबै जना होम आइसोलेशनमा रहेका छन् ।