काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधवार बसेको बैठकले काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय गरेका हुन् ।

जेठ २१ गतेदेखि ३१ गतेसम्म लागू हुने निषेधाज्ञामा तरकारी, फलफूल, खाद्यान्न, खानेपानी, ग्यास, किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी मर्मतका वर्कसप सञ्चालन हुने भएका छन् । त्यस्तै मर्निङवाक र इभिनिङ वाक गर्न पनि खुला गरिएको छ भने, वैदेशिक अध्ययनमा जाने विद्यार्थीको भिसा प्रक्रियामा सहजीकरण हुने भएको छ ।

‘जारी निषेधाज्ञालाई जेठ महिनाभर लागू गर्ने र किराना तथा खाद्य पसल, डिपार्टमेन्टल स्टोर संचालन गर्न खुला गर्ने निर्णय भएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।

यसैगरी निर्माण क्षेत्रमा काम रोकिएकाले निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम गर्न दिनेसमेत निणर्य भएको छ । यसरी काममा संलग्न हुने कामदारहरु कार्यरतस्थल भन्दा बाहिर जान पाउने छैनन् भने उनीहरुलाई खाने बस्ने व्यवस्था निर्माण कम्पनीले नै गर्नु पर्ने छ । यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन रातको समयमा चल्न पाउने छन् ।

पछिल्लो पटक सरकारले कोभिड–१९ अध्यादेश २०७८ ल्याएपछि प्रसासनले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइसमेत गर्दै आइरहेको छ । अध्यादेश अनुसार अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने उल्लेख छ । अनुमतिबिना सवारी चलाएको भेटिएमा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजारसम्म जरिवाना लिन सकिने जिल्ला प्रसासन कार्यालय काठमाडौंद्धारा यसअघि जारी सूचनामा उल्लेख छ ।

निषेधाज्ञाको आदेश व्यक्तिले उलंघन गरेमा प्रमुख जिल्ला अधिकारी तत्काल एक लाख रुपैयाँसम्मा जरिवाना गर्न सक्ने छन् भने संस्थाले उलंघन गरेमा पाँच लाख रुपैयाँ जरिवाना गराउन सक्ने छन् । यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकै पिच्छे एक सय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा उल्लेख छ भने हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ जरिवाना गराउन सकिने उल्लेख छ ।

यस्तै खोल्न छुट नदिइएका व्यवसाय खोलेको पाइएमा प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गराउन सक्नेसम्मको अधिकार अध्यादेशले दिएको छ । यसबाहेक अध्यादेश बमोजिम जारी भएका मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने भनिएको छ ।

उपत्यकामा यसअघि २० जेठसम्मका लागि निषेधाज्ञा कायम गरिएको थियो । निषेधाज्ञामा तरकारी तथा दुधजन्य पदार्थका पसल फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने संचालनमा रोक लगाएको थिएन । यस्ता पसल विहान ९ बजेसम्म खोल्न दिइने निर्णय भएको थियो ।