फुटको अवस्थामा पुगेको जसपालाई निर्वाचन आयोगको झट्का - रुपान्तरण
 २०८१ जेठ ४, शुक्रबार    

फुटको अवस्थामा पुगेको जसपालाई निर्वाचन आयोगको झट्का


काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का दुवै अध्यक्षको पत्र खारेज गरेको छ । मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोग बैठकले दुुवै पत्र खारेज गर्ने निर्णय गरेको हो । पत्रमा दलहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७४ अनुसार प्रकृया नपुर्‍याएको भन्दै निवेदन खारेज गरिएको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार उपेन्द्र यादव समूहलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिम निवेदन लिएर आउन भनिएको छ । यस्तै महन्थ ठाकुर समूहलाई केन्द्रीय सदस्यहरुको पनि हस्ताक्षर ल्याउन भनिएको छ ।

यादवले आयोगमा केन्द्रीय कार्यकारिणी परिषदका बहुमत सदस्यको हस्ताक्षर पनि बुझाएका थिए भने ठाकुरले कारबाही गरिएको मात्र जानकारी दिएका थिए ।

यादव पक्षले ठाकुर सहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्र शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो भने ठाकुर समूहले पनि यादवलाई पार्टीबाट निष्काशन गरेका थियो । दुवै समूहले मंगलबार आयोगमा कारवाहीको ब्यहोरा जानकारी गराएका थिए ।

आयोगको निर्णयसँगै पार्टीका फुटको अवस्थामा पुगेका बेला कार्यकारिणी समितिमा बहुमत जुटाउन जसपाका दुवै पक्षका नेता सक्रिय भएका छन् । पार्टीको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष सक्रिय भएको छ। कार्यकारिणीमा जसको बहुमत हुन्छ, कानुनी रूपमा जसपा उसकै हुन्छ। गत बर्ष जसपाले आयोगमा पठाएको विधानमा सकेसम्म सहमतिबाट निर्णय गर्ने, सहमतिबाट निर्णय हुन नसके बहुमतबाट निर्णय गर्ने भनिएको थियो ।

हालसम्मको अवस्था हेर्दा यादव पक्ष बहुमत देखिन्छ । गत जेठ ८ गते यादव पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकमा कार्यकारिणीका बहुमत सदस्यहरू उपस्थिति भएका थिए। उक्त बैठकलाई ठाकुर पक्षले बहिस्कार गरेको थियो।

ठाकुर पक्षका नेता महेन्द्र यादवले कित्ता परिवर्तन गरे पछि उपेन्द्र यादव पक्ष कार्यकारिणीमा बहुमतमा पुगेको हो। महेन्द्र र महेन्द्र निकट ४ जना सदस्य यादव पक्षमा पुगेका छन्। त्यसो त, यादव पक्षका ५ जना सांसदहरू कित्ता परिवर्तन गरी ठाकुर पक्षमा गएका छन्। तर, कित्ता परिवर्तन गरेर ठाकुर पक्षमा गएका सांसदहरू कार्यकारिणी समितिका सदस्य होइनन्। त्यसैले यादव पक्ष कार्यकारिणीमा बहुमतमा छ।

यता ठाकुर पक्षका नेताहरू यादव पक्षका ५ सांसदहरूले कित्ता परिवर्तन गरे झैँ कार्यकारिणीका केही सदस्यहरूले पनि कित्ता परिवर्तन गरी आफूतीर आएको दाबी गर्छन्। अहिलेसम्म ५१ सदस्यीय कार्यकारिणीमा २८ जना यादव पक्षसँग र बाँकी ठाकुरसँग छन् तर अहिले परिस्थिति परिवर्तन भइसकेको ठाकुर निकट नेताहरू बताउँछन् ।