रुकुममा अक्सिजन प्लान्ट जडान अनिश्चित - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

रुकुममा अक्सिजन प्लान्ट जडान अनिश्चित


रुकुम पश्चिम । जिल्ला अस्पताल रुकुम पश्चिममा सञ्चालन हुने भनिएको अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको छ । अक्सिजन पाइपलाइन फिटिङ सहित भण्डार ट्यांक खरिदका लागि गरिएको सूचना अनुसार कसैको पनि निवेदन प्राप्त नभएकोले जडानको काम अनिश्चित बनेको हो । यसको लागि भनेर आएको मुख्य मेशिन भने दुई महिनादेखि अस्पतालमै थन्काएर राखिएको छ ।

यसका साथै थन्काएर राखिएको अक्सिजन प्लान्टको मुख्य मेशिन खरिद प्रक्रिया समेत कर्णाली प्रदेशको संसदिय लेखा समितिको छानबिनमा परेपछि तत्काल जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा समस्या भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

अक्सिजन प्लान्ट जडानका लागि अस्पतालले मुख्य मेशिन ल्याएर गत जेठ १० गते अक्सिजन पाइपलाइन फिटिङ सहित भण्डार ट्यांक खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । तर, तोकिएको एक साता भित्र कसैको निवेदन नपरेको कार्यालयका निमित्त प्रमुख बिष्णु बहादुर बुढाथोकीले बताए ।

कार्यालयले अक्सिजन स्टोर गर्न ५ सय लिटरको ट्याङ्की र पाइप लाइनका लागि सूचना आह्वान गरेकोका कसैको पनि निवेदन नपर्दा तत्काल यो कार्यले पुर्णता पाउन गाह्रो हुने उनको भनाई रहेको छ । अक्सिजन पाइपलाइन फिटिङ सहित भण्डार ट्यांक खरिदका लागि प्रदेश सरकारले १८ लाख रुपैयाँ पठाइदिएको समेत निमित्त प्रमुख बुढाथोकीले जनाए ।

कोरोना संक्रमित बिरामीहरुको लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा सिलिण्डर भर्नाको लागि भनेर जडान गर्न लागिएको अक्सिजन प्लान्ट आवश्यक परेका बेला संचालन नहुँदा यहाँका बिरामीलाई मर्का परेको छ ।