ओली सरकारमा १२ नयाँ मन्त्री, चार मन्त्रीको पद जोगियो(यस्तो छ मन्त्रीमण्डल) - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

ओली सरकारमा १२ नयाँ मन्त्री, चार मन्त्रीको पद जोगियो(यस्तो छ मन्त्रीमण्डल)


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्। मन्त्रीहरुले शुक्रबार साँझ नै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

यस पटक ओलीले १२ जना नयाँ मन्त्रीहरु नियुक्त गरेका हुन्। १२ जना मध्ये १० जना जनता समाजवादी पार्टीका हुन् भने दुई जना एमालेका हुन्। तीन जनाले उपप्रधानमन्त्रीको समेत जिम्मेवारी पाएका छन् । अर्थमन्त्री विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा भएका हुन् भने नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

ओलीले पुराना मध्येका चार जनालाई मन्त्रीमा कायम राखेर बाँकी सबै नयाँ अनुहारलाई मन्त्री बनाएका हुन् । पुराना अनुहारमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ कायमै राखिएको छ ।

नेकपा विभाजन हुँदा शुरुमा माधव नेपाल पक्षमा गएर पछि ओली क्याम्पमै फर्केका शेरबहादुर तामाङ स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् । एमालेकै महासेठले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार तथा सूचनाप्रविधि, कृषि तथा पशुपन्छी विकास , पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ति र सामान्य प्रशासन आफैंसँग राखेका छन् ।

यी हुन जसपाका मन्त्रीहरु
जसपाले पाएको मन्त्रालयमा महतो उपप्रधानमन्त्रीसहित शहरी विकास, शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिलकुमार झा खानेपानी मन्त्रालय, लक्षणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालय सम्हालेका छन् । त्यस्तै, दुई राज्यमन्त्रीमा रेणुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठनागरिक र चन्द्रकान्त चौधरीलाई उर्जा तथा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्स्

प्रधानमन्त्री केपी शर्मा ओली-रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णुप्रसाद पौडेल-उपप्रधान तथा अर्थमन्त्री
राजेन्द्र महतो-उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
रघुवीर महासेठ-उपप्रधान तथा परराष्ट्रमन्त्री
शेरबहादुर तामाङ-स्वास्थ्य तथा जनसंख्या मन्त्री
कृष्णगोपाल श्रेष्ठ-मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ-मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ-मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी-मन्त्री, ऊर्जा
अनिल झा-मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव-श्रम तथा रोजगार
उमाशंकर अरगरिया-मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण-मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी-मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ-मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी-राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ-राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

"