मन्त्री भएलगत्तै राजेन्द्र महतोको आलोचना, पुत्ला जलाइयो - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

मन्त्री भएलगत्तै राजेन्द्र महतोको आलोचना, पुत्ला जलाइयो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतो पदभार ग्रहण गरेलगत्तै आलोचित बनेका छन् । उनको अभिब्यक्तिलाई लिएर चर्को विरोध भइरहेको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका विद्यार्थी संगठन अनेरास्ववियुले महतोमो पुत्ला नै जलाएका छन् । विद्यार्थी संगठनले शनिबार साँझ नयाँबानेश्वरमा मन्त्री महतोको पुत्ला जलाएको हो ।

शुक्रबार बेलुकी मन्त्रीको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्ने क्रममा महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएकाले पुत्ला जलाएको अनेरास्ववियूले जनाएको छ ।

महतोले देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै उनीहरूले पुत्ला जलाएका हुन् । पुत्ला दहन गर्ने केही विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि एमालेको माधवकुमार नेपाल पक्षीय १८ वटन जनवर्गीय संगठनहरूले पनि उपप्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल माफी माग्न माग गरेका थिए ।

महतोको अभिव्यक्ति संविधानको प्रस्तावना र संविधानको धारा–३ विपरीत रहेको भन्दै उनीहरूले जिम्मेवार व्यक्तिबाट यस्ता अराजक अभिव्यक्ति आउनु बिडम्बनापूर्ण भएको बताएका छन् ।

त्यस्तै एमालेका नेता बामदेव गौतमले महतोको अभिव्यक्ति देशभक्त नेपालीका लागि स्वीकार्य हुन नसक्ने बताएका छन् । गौतमले उपप्रधानमन्त्री महतोले अहिले पनि सञ्चालन गरिरहेको आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुननसक्ने जिकिर गर्दै नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीको लागि स्वीकार्य नहुने बताएका हुन् ।