‘ओलीको चालबाजीपूर्ण भ्रममा नपरौं’ - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

‘ओलीको चालबाजीपूर्ण भ्रममा नपरौं’


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएरै  वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

नेपाल-खनाल पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकबाट पारित प्रस्तावमा उक्त निष्कर्ष निकालिएको उल्लेख छ । उनीहरुले माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु बेकार हुने ठहर पनि गरेको छ । उक्त पक्षले अध्यक्ष केपी शर्मा ओलीले चालबाजीपूर्ण एकता र वार्ता कार्ड फालिरहेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ ।

आफ्नो पक्षले राखेका माग निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने सहमति सार्वजनिक भए मात्र ओलीलाई विश्वास गर्न सकिने अन्यथा चालबाजीमा परिणत हुने शंका व्यक्त गरेका छन् ।

बैठकपछि सार्वजनिक गरिएको निर्णयमा भनिएको छ, ‘अन्यथा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आम निर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने स्पष्ट छ ।’

यस्तो स्थितिमा नेपालको संविधान, पार्टीको विधान, कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने चेतावनी दिँदै नेपाल पक्षले संगठनलाई वडा र टोलसम्म लैजाने निचोड निकालेको छ ।

निर्णयमा लेखिएको छ, ‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ-आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक् आह्वान गर्दछौं ।’

बैठकबाट पारित प्रस्तावहरु आइतबार सार्वजनिक गर्दै नेता नेपालले पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात भएको पनि बताए । ओली मन्त्रिपरिषद् विस्तार गरेर जनघात गरेको समेत बताए ।