काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउन भन्दै आइतबार गरेको प्रस्तावका विषयमा नेपाल–खनाल पक्षले लिखित धारणा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
ओलीले अगाडि सारेको एकता प्रस्ताव जालझेलपूर्ण र षणयन्त्रका रुपमा लिंदै उक्त पक्षले अस्वीकार गर्ने पनि जनाएको छ । सोमबार बसेको माधव कुमार नेपाल झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठकले उक्त ६ बुँदे प्रस्ताव पार्टी एकताको पक्षमा नभएको निष्कर्ष निकालेको हो ।
बैठकमा पार्टी २०७५ जेठ ३ पूर्वकै अवस्थामा मुलभूत रुपमा फर्कन तयार रहेको बताउनु र सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखिनलाई शंका उपशंकाका रुपमा हेर्दै र विरोधाभाषपूर्ण भएकाले आफूहरुले अस्वीकार गरेको छ ।
उक्त प्रस्तावलाई बैठकले समूहलाई भत्काउन र तोडफोड गर्न फालिएको कार्ड मात्रै हो भन्ने निष्कर्ष पनि निकालेको छ । साथै संविधान मिचेर गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा गरिएको हस्ताक्षर फिर्ता गर्न नसकिने बैठकले निर्णय गरेको छ ।
बैठकमाओलीले संसद, लोकतन्त्र र संविधान नै मास्न खोजेको भन्दै यो कोभिडको समयमा निर्वाचन गर्न असम्भव हुने निष्कर्ष पनि निकालेको छ । पुरानै जनसंगठन क्रियाशील तुल्याउने सन्दर्भमा पनि ओलीको नियत लुकेको समेत बैठकमा कुरा उठेको एक नेताले बताए ।
तर सुरेन्द्र पाण्डे, घनश्याम भूषाल र गोकर्ण विष्टले फरक धारणा राखेको स्रोतको दावी छ । उनीहरुले कार्यदललाई व्यूताएर समस्या सुल्झाउदै जानुपर्ने र आन्तरिक संघर्षनै अहिलेको अवस्थामा स्वीकार गरेर जाँदा राम्रो हुने धारणा राखेको स्रोतको दावी छ । उनीहरुले यसअघि पनि मिलेर जाने प्रस्ताव गरेका थिए ।
"